
राजु चौधरी/ईमेज:
चितवन, चैत ४ । त्रिभुवन विमानस्थल काठमाडौंमा गत सोमबार यूएस बंगला एयरलाइन्सको विमान दुर्घटनामा वरिष्ठ न्युरो सर्जन डा.बालकृष्ण थापाको निधनले शोकमा डुबेको वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल र चितवनबासीहरु अझै पनि दुखित देखिन्छन् । भन्छन्–यो देशकै लागि अपूरणीय क्षति हो ।
सयौं बिरामीलाई मृत्युको मुखबाट बचाएका वरिष्ठ न्युरो सर्जन डा.बालकृष्ण थापा अल्पायुमै विमान दुर्घटनामा ज्यान गुमाएपछि धेरैको आँखा रसाए ।
उनी कार्यरत भरतपुरको वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा अझै पनि सन्नाटा छाएको छ । अस्पतालमा कार्यरत चिकित्सकहरु मात्र नभई अस्पतालको न्युरो विभागमा उपचाररत बिरामीहरुमा पनि नैराश्यता छाएको छ ।
डा.थापाबाट उपचार पाएर बाँच्ने सपना देखिरहेका बिरामीहरुलाई अहिले छाँगाबाट खसेजस्तै भएको छ ।
न्यूरोको अप्रेशन गरी उपचाररत चितवन माडीका बिरामी भरत अधिकारीले घटना थाहा पाउने बित्तिकै आफू निकै दुखित बनेको बताए ।
डा.थापा न्यूरो सम्वन्धी सम्मेलनमा भाग लिन फागुन २५ गते बंगलादेशको राजधानी ढाकातर्फ गएका थिए । उनी आइतबार नै काठमाडौं फर्कने कार्यक्रम थियो ।
तर, कारणवस आइतबार फर्कन नमिलेपछि सोमबारको टिकट लिनुभएको थियो । तर, डा. थापासहित ७१ जना सवार यूएस बंगला एयरलाइन्सको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा दुर्घटनामा प¥यो ।
डा.थापाबाट उपचार गराउन धेरै बिरामी कुरिरहेका थिए । दुःखद घटनापछि कतिपय बिरामीलाई काठमाडौं पठाइयो ।
अब डा.थापा जस्तै वरिष्ठ चिकित्सक पाउन धेरै समय लाग्ने थापासँगै काम गरेका डा.विनय ठाकुुर बताउँछन् ।
न्यूरो सर्जनको ओपीडी अहिले सुनसान देखिन्छ । न्यूरो सर्जनमा डा.थापासंगै डा. बेन्जु रश्मी प्रधान मात्रै चिकित्सक हुन् । थापाको निधनसँगै क्यान्सर अस्पतालमा न्यूरो सर्जनको अभाव सुरु भएको छ ।
डा. थापा न्यूरो सर्जरीका विभागीय प्रमुख थिए । डा. बेन्जुलाई पनि डा. थापाले नै न्यूरो सर्जन बन्न अभिप्रेरीत गरेका थिए । बेन्जु नेपालकै पहिलो महिला न्यूरो सर्जन हुन ।
डा.थापाको निधनले अपुरणीय क्षति पुगेको डा.बेन्जु बताउछिन् ।
काभ्रेको कुशादेवी–३ मा २०२४ माघ ४ मा जन्मिनु भएका डा.थापा चिकित्सकीय पेशाका अलवा साहित्य सिर्जनामा पनि उत्तिकै सक्रिय थिए ।
डा.थापाको डाक्टरी कविता २०६१ र डाक्टरका कविता २०६९ एवम् निबन्ध संग्रह चिरफार २०७० प्रकाशित छन् ।
प्रतिक्रिया दिनुहोस्