अबको समय विकास र समृद्धि : तिमिल्सिना « Image Khabar


अबको समय विकास र समृद्धि : तिमिल्सिना


Imagekhabar
६ चैत्र २०७४, मंगलवार १६:१८

राष्ट्रियसभामा निर्वाचित भएपनि पहिलोपटक गृहजिल्ला पर्वत आएका तिमिल्सिनाले मंगलबार जिल्ला समन्वय समिति पर्वतले आयोजना गरेको बधाइ तथा सम्मान कार्यक्रममा लामो समयको संघर्षपछि मुलुकमा दीगो सरकार बनेको बताए ।

अब मुलुकको समृद्धिका निम्ति काम गर्नुपर्ने भन्दै उनले मुलुकलाई स्थीरता प्रदान गर्नका लागि पनि अब काम गरेर देखाउनुपर्ने बेला आएको बताए ।

उनले पहिले संघीय संरचना र प्रदेशका लागि आवश्यक कानुन निर्माण गर्ने र त्यसपछि सबै तहमा काम गर्न सहज हुने उल्लेख गरे ।

अध्यक्ष तिमिल्सिनाले नेपाल प्राकृतिक स्रोत–साधनले भरिपूर्ण रहेको बताउँदै तिनै स्रोतहरुको भरपुर प्रयोग गर्नुपर्नेमा जोड दिए ।

कृषि, पर्यटन, जलस्रोत, खानीहरुको अपार सम्भावना भएपनि स्थीर सरकार नहुँदा तिनीहरु टुंगोमा पुग्न नसकेको उनको भनाइ थियो ।

तिमिल्सिनाले अब समृद्ध राष्ट्र बनाउनका लागि वातावरण बनेको जिकिर गरे ।

संविधान निर्माण गर्दा जसरी सबै दलहरुको सहमतिमा बन्यो, त्यसरी नै मुलुक नवनिर्माणका लागि अघि बढ्नुपर्ने विचार उनले व्यक्त गरे ।

अब सरकार बनाउने र गिराउने खेलमा नलागी स्थीर सरकारलाई काम गर्ने वातावरण सिर्जना गर्नुपर्नेमा उनको जोड थियो ।

तिमिल्सिनाले सबै पक्षलाई मिलाएर सहमति र सहकार्यको मूल्य र मान्यतामा आधारित भएर आफूले काम गर्ने बताए ।

उनले लोकतन्त्रमा सानो–ठूलो कोहीपनि नहुने भएकाले सबैको भूमिका महत्वपूर्ण हुने बताउँदै एकलौटी तवरले अगाडि बढ्छ कि भनेर कोही–कसैले चिन्ता नगर्न आग्रह गरे ।

उनले लोकतन्त्र बचाउन र राष्ट्रियसभाको गरिमा बचाउँदै यसको मूल्य र मान्यताको रक्षाका लागि आफूहरूले भरपूर प्रयास गर्ने स्पस्ट पारे ।

सो अवसरमा तिमिल्सिनालाई जिल्ला समन्वय समिति पर्वतका संयोजक मनोहर बी पौडेलले सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्