सिंहदरबारमा मन्त्रीहरुको कार्यकक्षमै ‘आसेपासे’को भीड (भिडियो) • Image Khabar Image Khabar


सिंहदरबारमा मन्त्रीहरुको कार्यकक्षमै ‘आसेपासे’को भीड (भिडियो)


Imagekhabar
६ चैत्र २०७४, मंगलवार १७:३७

सिंहदरबारमा मन्त्रीहरुको कार्यकक्षमै ‘आसेपासे’को भीड (भिडियो)

सबैजसो मन्त्रालयहरुमा नवनियुक्त मन्त्रीलाई बधाइ दिनेको संख्या दिनदिनै बाक्लिन थालेको छ ।

स्थानीय तहबाटै हुनसक्ने कामलाई लिएरपनि अधिकांश सेवाग्राही अझै सिंहदरबार धाउन छाडेका छैनन् । सिंहदरबारको काम गर्ने तौरतरिका भने नफेरिएको कतिपय सेवाग्राहीको गुनासो छ ।

दोलखाका विश्वनीति पाख्रिन, एउटै कामका लागि लगातार ७ दिन सिंहदरबार धाउँदा पनि काम नभएकोप्रति खिन्नतासँगै आक्रोश व्यक्त गर्छन् ।

विगतमाजस्तै सरुवा–बढुवाका काम लिएर सिंहदरबार आउने सेवाग्राहीको पनि कमी छैन ।

मुलुकको शासन व्यवस्था परिर्वतन भएपनि सिंहदरबारको कार्यशैली जस्ताको तस्तै रहेको गोरखाका यज्ञमूर्ति भण्डारीको गुनासो छ ।

यतिबेला नयाँ मन्त्री आएसँगै काम विशेष भन्दापनि भेटेर बधाइ दिनकै लागि सिंहदरबार धाउनेको भीड थामिनसक्नु छ । यस्तो भीड नयाँ मन्त्री नियुक्त भएपछि हरेकपटक देख्न सकिन्छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आसेपासे र नातेदारको घेरामा नपर्न मन्त्रीहरुलाई निर्देशन दिएको २४ घन्टा नबित्दै सिंहदरबारमा मन्त्रीहरुको कार्यकक्षभित्रै भीड प्रशस्त देखिए ।

जनताको काम गर्नुपर्ने मन्त्रीहरु खादा, माला र उपहारग्रहणमै व्यस्त रहेका छन् । नयाँ मन्त्रीलाई बधाइको बाहनामा आफ्ना मान्छेबारे भनसुन गर्ने अवसरकारुपमा विशेषगरी पार्टीका नेता तथा कार्यकर्ताले उपयोग गरिरहेको पाइन्छ ।

यस्ता प्रवृत्तिले मन्त्रीहरुको काममा बाधा त पुग्छ नै मन्त्रीहरु बद्नाम हुने खतरा पनि उत्तिकै हुन्छ ।

भिडियो हेर्नुहोस्

प्रतिक्रिया दिनुहोस्