
प्रदेश १ का सबै जिल्लामा हर्न बजाउन नपाइने गरी असोज १ गतेदेखि लागु भएको हर्न निषेध अभियान अरु जिल्लाको तुलनामा झापामा प्रभावकारी भएको ट्राफिक प्रहरीको दावीे छ ।
झापामा हर्न निषेध अभियान प्रभावकारी बन्दै गएको हो ।
सुरुका महिनामा सवारी चालकको अटेरिपनका कारण अभियानलाई सुरुवात गर्न केही समस्या भए पनि ट्राफिक प्रहरीले प्रेसर हर्ननै निकाल्न थालेपछि अभियानमा सहजता भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक राजेश राईले बताए ।
ट्राफिक प्रहरीले हालसम्म ५ सय भन्दा बढि प्रेसर हर्न निकालेर कार्यालयमा थुपारेको छ ।
जनचेतनामुलक कार्यक्रम र होर्डिङ बोर्ड राख्ने कामले मात्र प्रभावकारी नभएपछि सबै ट्राफिक प्रहरी परिचालन गर्दै ठुलो हर्न बजाउनेको प्रेसर हर्न नै निकाल्न थालेपछि मात्र सहजता भएको प्रमुख राईको भनाई छ ।
अहिले पनि दैनिक २÷४ जना ट्राफिक प्रहरी हर्नकै निगरानिमा खटिने गरेका छन् ।
उनीहरुको ध्यान हर्न बजाउने सवारीसाधन नियन्त्रण र कारबाहीमा नै हुन्छ । यस अघि सबैभन्दा बढि बस, ट्रक र ट्याक्टरले हर्न बजाउने गरेका थिए ।
सवारी साधनको बढी चाप हुने झापाको मुक्तिचोक, बसपार्क क्षेत्र र धेरै बाटो जोडिएका क्षेत्रमा बढि हर्न बज्ने हुँदा सो क्षेत्रलाई निगरानी गरी काम गर्दा अभियान प्रभावकारी बनेको प्रहरीको भनाई छ ।
अन्य स्थानमा होर्डिङ बोर्ड र स्टिकरसमेत टाँसिएकाले पछिल्लो समय सवारीचालकहरु पनि सचेत बनेका छन् ।
सवारीचालकले अटेर गर्दा हर्न बजाउने सवारीबाट जरिवाना पनि असुलेको ट्राफिक प्रहरीको भनाई छ ।
हर्न निषेध अभियानमा असहयोग पुर्याउने २ हजार ५ सय २९ वटा सवारीलाई डेढ महिनाको अवधिमा कारबाही गरिएको छ ।
ती सवारीबाट १२ लाख ६४ हजार ५ सय रुपैयाँ राजश्व संकलन गरिएको ट्राफिक प्रमुख राईले जानकारी दिए ।
हर्न बजाउने सवारी चालकबाट ५ सयदेखि १५ सय रुपैयाँसम्म जरिवाना संकलन गरिएको छ ।
सुरुमा यात्रुबाहक बस बढी कारबाहीमा परे पनि अहिले भारतीय गाडी र मोटरसाइकल कारबाहीमा पर्ने गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्