
काठमाडौं, चैत ७ । रग्बी विश्वकप छनौटको खेलमा धाँधली भएको आरोप लगाउँदै स्पेनले उजुरी दर्ता गराएको छ ।
विश्वकपका लागि भएको युरोपेली समुहको छनौट खेलमा स्पेनलाई बेल्जीयमले १८/१० ले हराएको थियो ।
सोही खेलमा रेफ्रीले नियतवश आफुहरुलाई हराएको आशयसहित स्पेनीस रग्बी फेडेरेशनले विश्व रग्बी महासंघ र रग्बी युरोपमा उजुरी हालेको हो ।
स्पेनको यो हारले अर्को युरोपेली राष्ट्र रोमानियालाई स्वतः विश्वकपमा पुर्याएको छ । स्पेन र बेल्जीयमबीचको छनौट खेल रोमानियन रेफ्री भ्लाद ओर्दाचेस्कुले खेलाएका थिए ।
यो खेलमा विजयी भएको खण्डमा स्पेनले अर्को वर्ष जापानमा हुने रग्बी विश्वकपमा स्थान पक्का गर्ने थियो । हारपछि भने स्पेनले पोर्चुगलसँग प्ले अफ् खेल्नुपर्ने भएको छ ।
उक्त खेलको विजेताले सामोआसँग दुई लेगको प्ले अफ् खेलेपछि मात्रै विश्वकपमा स्थान बनाउन सक्नेछ ।
स्पेनको आधिकारिक उजुरीपत्र दर्ता अघि नैं विश्व रग्बी महासंघले स्पेन र बेल्जीयमबीचको म्याचबारे छानविन सुरु गरिसकेको जनाएको छ ।
रग्बी युरोपले भने उक्त खेलमा रेफ्री र अन्य म्याच अफिसियलहरुको जिम्मेवारी नियमित र स्वभाविक प्रक्रिया अनुसार पहिले नैं तोकिएको भन्दै आफ्नो निर्णयको बचाउ गरेको छ ।
प्रतिक्रिया दिनुहोस्