गृहमन्त्री जब प्रहरीको भान्सामा पुगे… « Image Khabar


गृहमन्त्री जब प्रहरीको भान्सामा पुगे…



बिहान १०ः१५ बजे महानगरीय प्रहरी वृत्त, अनामनगरमा आकस्मिकरुपमा निरीक्षण गर्न पुगेका गृहमन्त्री थापाले वृत्तको उजुरी शाखा, महिला शाखा, ब्यारेक, कैदीकक्ष, भन्डारणकक्षलगायत निरीक्षण गरेका थिए ।

त्यसपछि उनले मेसको पनि निरीक्षण गर्ने भन्दै वृत्तको मेसतर्फ लागे । त्यहाँ खाना खाइरहेका प्रहरी हतार–हतार उठ्न खोज्दै थिए । तर, गृहमन्त्री थापाले बसेर खाइराख्न सबैलाई आग्रह गरे ।

सोलगत्तै भान्सामा पुगी उनले–‘हामी पनि यहीँ खाना खान्छौं, खाना पुग्छ नि ?’ भनेर प्रश्न गरे ।

उनको प्रश्नबाट अकमकिएका प्रहरीले सुरुमा त विश्वास मानेनन् । ‘पुग्छ हजुर’ भनेर जवाफ दिए ।

‘त्यसो भए हामीलाई पनि खाना ल्याउनोस्’ भन्दै गृहमन्त्री थापा खाना खाइरहेका प्रहरी जवानसँगै बसेर खाना खाए ।

दाल, भात, आलु र गोभीको तरकारी, साग र आलुका अचार खानमा पाकेको थियो ।

गृहमन्त्री आउने जानकारी नपाएकै कारण वृत्तको प्रहरीले सलामीसमेत अर्पण गर्न पाएनन् ।

सो अवसरमा उनले जनताको जीउ, धनको सुरक्षाका लागि दत्तचित्त भएर लाग्न वृत्तका प्रहरीलाई निर्देशन दिए ।

सुरक्षा निकायका अन्य अंगभन्दा नेपाल प्रहरीको रासनमा विभेद रहेकोबारे आफू जानकार रहेको बताउँदै गृहमन्त्री थापाले त्यो असमानता हटाउन आफूले सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

यसअघि, बुधबारै बिहान गृहमन्त्री थापाले नक्खु कारागार, महानगरीय प्रहरी परिसर ललितपुर, जाउलाखेल, महानगरीय प्रहरी प्रभाग पुल्चोकको निरीक्षण गरेका थिए । रासस