१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


श्वेतपत्रमार्फत् सबै प्रदेशका समस्या समाधान गरिन्छ : प्रधानमन्त्री


0
Shares

सातओटै प्रदेश सरकारका मुख्यमन्त्रीसँग विद्यमान अवस्थाको जानकारी लिनेक्रममा प्रधानमन्त्री ओलीले संघीयता कार्यान्वयन गरेर समृद्धिको बाटोमा अगाडि बढ्ने विषयमा सरकारले स्पस्ट योजनासहित अगाडि बढ्ने बताएका हुन् ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बुधबार बसेको बैठकबारे जानकारी दिँदै प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार विष्णु रिमालले प्रवृत्तिगत एवं अन्य समस्याका कारण अलमल देखिएको तर चाँडै श्वेतपत्रमार्फत् समस्याको समाधान गरिने बताएका हुन् ।

प्रधामन्त्रीलाई उद्धृत गर्दै उनले भने–‘संघीयताबाट फर्कने अधिकार कसैलाई पनि छैन, संघीयता चलाउन सकिएन भन्ने अनुमति कसैलाई छैन ।’

प्रधानमन्त्रीले ओलीले थप स्पस्ट पार्दै भने–‘सबै तहका सरकार नेपाल सरकार नै हुन्, सबै सरकार मिलेर एउटै तालमा काम गर्नुपर्छ ।’

प्रधानमन्त्री ओलीले कानुन कस्तो बनाउने, संघीय संसदबीचको समन्वय कसरी गर्ने हो भन्ने विषयमा प्रदेश आफैंले समन्वय गर्नुपर्ने भएकाले अलिअलि अलमल हुनु स्वाभाविक भएको र अप्ठ्यारालाई हल गरेर अगाडि बढ्ने बताएका थिए ।

प्रधामन्त्रीसँगको बैठकबारे जानकारी दिँदै कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कानुन, स्रोत–साधान र समन्वयको अभाव भएकाले त्यसलाई समाधान गर्नुपर्नेमा आफूहरुले जोड दिएको बताए ।

कर्णाली प्रदेश भौतिक विकट र आर्थिकरुपमा पनि कमजोर भएकाले विशेष नीति बनाएर सम्बोधन गर्न आफूले प्रधानमन्त्रीलाई आग्रह गरेको भन्दै उनले भने–‘संघीय ऐनमा यसलाई विशेष अधिकारसहित अगाडि बढाउनुपर्छ ।’

जवाफमा प्रधानमन्त्रीले ‘विकास र निर्माणको अभियान हाम्रो साझा नारा हो, त्यसमा आउने चुनौतीलाई सम्बोधन गरेर अगाडि बढ्नुपर्छ’ भनेको मुख्यमन्त्रीले शाहीले जानकारी दिए ।

प्रदेश नम्बर–२ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेशले भोगिरहेको समस्या र त्यसलाई केन्द्रीय सरकारले कसरी सम्बोधन गर्नुपर्छ भन्ने विषयमा आफूले कुरा राखेको जानकारी दिए ।

उनले ऐन, कानुन बनाउनेक्रममा छौं त्यसका लागि केन्द्र सरकारको सहयोग हुनुपर्ने भनेको बताए ।

विषयगत विज्ञ अभाव, भौतिक पूर्वाधारका समस्या, प्रदेशका संसदको मर्यादाक्रमका विषयमा यथार्थ जानकारी गराएको बताउँदै मुख्यमन्त्री राउतले राजस्वको बाँडफाँट हुँदा जनसंख्या र मावनीय सूचकांकका आधारमा हुनुपर्ने आफ्नो धारणा राखेको बताए ।

उनहरुले जस्तै अन्य प्रदेशका मुख्यमन्त्रीले पनि स्थानीय, प्रदेश र संघीय सरकारबीचको समन्वय, कानुन एवं स्रोत र साधनका विषयमा गुनासो गरेका थिए ।

करिब ६ घन्टा चलेको बैठकमा रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, अर्थमन्त्री डा. युवराज खतिवडाको पनि सहभागिता थियो । रासस