
पार्टी संगठन, निर्वाचनको समीक्षालगायतका छलफल गर्न पार्टी केन्द्रीय कार्यालय सानेपामा शुक्रबारदेखि भएको सुरु केन्द्रीय समितिको बैठकमा सदस्यहरुले नेतृत्वको कार्यशैलीका कारण निर्वाचनमा पार्टीले पराजय भोग्नुपरेको भन्दै चर्को आलोचना गरेका छन् ।
शुक्रबार बोल्ने अधिकांश नेताहरुले पार्टीले निर्वाचका बेला स्पस्ट रणनीति बनाउन नसक्दा पराजय भोग्नुपरेको धारणा राखेका छन् ।
उनीहरुले पार्टी सभापति शेरबहादुर देउवाले पार्टीको सिद्धान्त र आदर्शलाई पर्वाहा नगरी व्यक्तिगत महत्वाकांक्षा र सत्ताकेन्द्रित राजनीतिक चरित्र देखाएका कारण पार्टी कमजोर भएको टिप्पणी गरे ।
बैठकमा पूर्वमहामन्त्री प्रकाशमान सिंहले सरकार र पार्टी नेतृत्वमा सभापति देउवाले अपनाएको गलत रवैयाका कारण पराजय व्यहोर्नुपरेको आरोप लगाए ।
उनले पार्टी सभापति देउवाले निर्वाचनमा पराजयको जिम्मेवारी लिनुपर्ने जिकिर गरे ।
सिंहले आफ्नो ९ बुँदे लिखित सुझाव प्रस्तुत् गर्दे सैद्धान्तिक, नीतिगत, कमजोर संगठन, कमजोर नेतृत्वलाई पार्टी पराजकोरुपमा उल्लेख गरेका छन् ।
निर्वाचनमा गुटगत टिकट वितरण र अराजक शैलीमा पार्टी सन्चालन गरेका कारण पराजय भोग्नुपरेको भन्दै सिंहले नेतृत्व सच्चिनुपर्नेमा जोड दिए ।
त्यसैगरी, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले पनि पार्टीको आन्तरिक संगठन चुस्त हुन नसकेको भन्दै नेतृत्व सच्चिन आवश्यक रहेको बताए ।
पार्टी विधानविपरीत मनोमानी ढंगले चलेको भन्दै सिटौलाले नेतृत्वको रवैयाका कारण पार्टी पराजय भएको आरोप लगाए ।
प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीको आन्तरिक सुदृढीकरण र एकताबद्ध भएर अगाडि बढ्नका लागि नेताहरुले सुझाव दिएको बताए ।
उनले संविधानमा भएको फेरबदलअनुसार पार्टीको प्रदेश, जिल्ला, निर्वाचन क्षेत्र र स्थानीय तहको नयाँ संरचना बनाउनेबारेमा पनि छलफल भएको जानकारी दिए ।
उनले पार्टीलाई संघीय संरचनाअनुसारको ढाँचामा लैजान विधान संशोधन गरिने तयारी भएको पनि जानकारी दिए ।
बैठकमा सबै केन्द्रीय सदस्यलाई बोल्न दिइने भएकाले बैठक एकसातासम्म चल्ने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्