Logo ३१ भाद्र २०८२, मंगलबार | Tue Sep 16 2025


क्यान, एन्फा र ओलम्पिकको विवाद हल गर्छु : मन्त्री विश्वकर्मा


0
Shares

शनिबार राजधानीमा रिपोर्टर्स् क्लबद्वारा आयोजित साक्षात्कारमा उनले यस्तो बताएका छन् ।

उनले क्यान, एन्फा र ओलम्पिक कमिटीलगायतका खेलकुद संघमा देखिएका विवाद तथा समस्याहरुलाई छिट्टै समाधान गर्ने दाबी पनि गरे ।

‘खेलकुद क्षेत्रको विकास गर्नेगरी सुव्यवस्थित् गर्ने संकल्प लिएको छु । खेलाडीहरुले अहिले भोग्नुपरेको समस्या र चुनौतीहरुलाई हल गर्नुपर्छ, युवा शक्तिलाई समृद्ध राष्ट्र निर्माणमा लगाउनेगरी व्यवस्थित कार्ययोजना छिट्टै ल्याउँछु’–उनले भने ।

सन् २०१९ मा १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता हुने भएकाले उक्त प्रतियोगिता समयमै सम्पन्न गर्नेगरी आफूहरु तयारीमा जुटिसकेको उनले सुनाए ।

‘तोकिएकै मितिमा हामी प्रतियोगिता सम्पन्न गर्छौं’–उनले भने–‘प्रतियोगिताका लागि आवश्यक पूर्वाधार निर्माणको योजनाहरु बनाउनमा हामीकेन्द्रित छौं ।’

उनले चालू आर्थिक वर्षमा निर्माणकार्य सम्पन्न गर्नुपर्ने पूर्वाधारकाबारेमा जानकारी लिन १५ दिनभित्रै प्रतिवेदन ल्याउनेगरी मन्त्रालयका सहसचिवको नेतृत्वमा समिति गठन भएर काम सुरु भइसकेको पनि जानकारी दिए ।

यस्तै, ८औं राष्ट्रिय खेलकुद प्रतियोगिता पनि समयमै सम्पन्न गर्ने उनले विश्वास दिलाए ।

उनले मुलुक संघीय व्यवस्थाअनुरुप अघि बढेकाले केही ऐन तथा कानुनहरु परिमार्जन गर्ने कामलाई पनि आफूले अघि बढाएको बताए ।

मन्त्री विश्वकर्माले ७ ओटै प्रदेशमा आधुनिक सेवा–सुविधा सम्पन्न रंगशाला बनाउने गरी आगामी आर्थिक वर्षको बजेटमा समावेश गरिने जनाए ।

आफूले राजनीतिक आग्रह वा पूर्वाग्रह नराखीकन काम गर्ने पनि मन्त्री विश्वकर्माले बताए ।

‘म युवा नीति चाँडै ल्याउँछु । आग्रह वा पूर्वाग्रह मसँगै छैन, कसैको अनुहार हेरेर भन्दापनि विवेक र न्यायसंगतरुपमा चल्छु । जे गर्दा खेलकुद क्षेत्रको हितमा हुन्छ, त्यही निर्णय गर्छु । जे निर्णय गर्दा खेलकुद क्षेत्रको भविष्य उज्ज्वल हुन्छ, त्यही गर्छु । म सबैलाई समेट्ने गरी नेतृत्वदायी र संयोजनकारी भूमिका निर्वाह गर्छु’–उनले भने ।