
प्रधानमन्त्री ओलीले यही चैत २३ गतेबाट भारत भ्रमण गर्ने समाचार सार्वजनिक भएपनि सरकारीस्तरबाट भ्रमणबारे औपचारिक घोषणा भएको छैन ।
दुई पार्टीका अध्यक्षबीच पछिल्लोपटक भएको सहमतिले पार्टी एकताले नयाँ मोड लिएको छ भने राजनीतिक वृत्तमा विभिन्न टिप्पणी सुरु भएका छन् ।
दुई पार्टीबीच अन्तर्राष्ट्रिय कम्युनिष्ट दिवस अर्थात् अप्रिल २२ तारिखमा एकता घोषणा गर्ने तयारीका साथ पार्टी एकताको काम भइरहेको थियो ।
तर, शनिबार दुवै पार्टीका अध्यक्ष ओली र दाहालबीच प्रधानमन्त्रीको आसन्न भारत भ्रमणअघि नै पार्टी एकता घोषणा गर्ने सहमतिसँगै नेपाली राजनीति वृत्तमा विषयले प्रवेश पाएको हो ।
दुई वाम दल एकताको पछिल्लो घटनाक्रमले राजनीतिक वृत्तमा विभिन्न अड्कल सुरु भएका छन् ।
पूर्वतयारी र पूर्वसहमतिविपरीत प्रधानमन्त्री ओलीले किन भारत भ्रमणअगावै पार्टी एकता गर्न खोजेका छन् त ?
एकीकृत र शक्तिशाली पार्टी तथा प्रधानमन्त्रीको हैसियतमा भारत भ्रमण जाँदा भारतसँग बलियोरुपले प्रस्तुत् हुनसकिने तर्क गर्छन्, राजनीतिक विश्लेषक झलक सुवेदी ।
तर, अर्का राजनीतिक विश्लेषक पुरुषोत्तम दाहालले भने प्रधानमन्त्रीको भारत भ्रमणअगावै पार्टी एकताको घोषणा गर्ने तयारी शंकास्पद भएको टिप्पणी गरे ।
प्रधानमन्त्री ओली अन्तर्राष्ट्रिय समुदायलाई संविधान निर्माणपछि मुलुकमा राजनीतिक स्थिरता आएको, मुलुक विकास र सम्मृद्धितर्फ उन्मुख रहेको देखाउन चाहन्छन् ।
राजनीतिक विश्लेषक सुवेदी भारत भ्रमणअघि नै पार्टी एकताको घोषणा गर्नु निकै महत्वको विषय रहने बताउँछन् ।
अर्का राजनीतिक विश्लेषक दाहाल भने प्रधानमन्त्री ओलीको भारत भ्रमणअघि एकता घोषणा गर्नु र नगर्नुमा कुनै फरक नहुने टिप्पणी गर्छन् ।
प्रधानमन्त्री ओलीको भारत भ्रमणपछि पार्टी एकतामा सानातिना वा प्राविधिक केही समस्या देखिए त्यसलाई भारतसँग जोडेर हेर्ने खतरा रहने भएकाले भ्रमणअगावै एकता घोषणा गर्न खोजिएको तर्क पनि राजनीतिक वृत्तमा छ ।
तर, राजनीतिका जानकारहरुले भने यो तर्कमा खासै दम नरहेको टिप्पणी गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्