२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


जोन्टी–११ द्वारा पारस–११ पराजित


0
Shares

काठमाडौं, मंसिर ८ । युवा क्रिकेट खेलाडीहरुलाई प्रशिक्षण दिन नेपाल आएका दक्षिण अफ्रिकाका पूर्वक्रिकेट खेलाडी जोन्टी रोड्सले शनिबार एक च्यारिटी खेलमा भाग लिएका छन् ।

नेपाल अटिजम केयर समाजका लागि सहयोग जुटाउने उद्देश्यले जोन्टी रोड्सको टिम जोन्टी–११ र नेपाली राष्ट्रिय टिमका कप्तान पारस खड्काको टिम पारस–११ बीच मैत्रीपूर्ण टी–२० खेल भएको हो ।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा जोन्टी रोड्सको टिमले पारस–११ लाई १ विकेटले पराजित गर्‍यो ।

पारस–११ ले दिएको २१० रनको विशाल लक्ष्य जोन्टी–११ ले १९ ओभरमा ९ विकेट गुमाएर पूरा गरेको हो ।

पहिले ब्याटिङ गरेको पारस–११ ले निर्धारित् २० ओभरमा ८ विकेट गुमाएर २०९ रन बनाएको थियो ।

पारस–११ का तर्फबाट दीपेन्द्रसिंह ऐरीले ३२, कप्तान पारसले २८, सोनु तामाङ र कुसल भुर्तेलले समान २२/२२ रनको योगदान दिए ।

जोन्टी–११ को टिमबाट जोन्टी रोड्ससहित कमलसिंह ऐरी, दीपेन्द्र चौधरी, अनिल साहलगायतका खेलाडीले खेलेका थिए ।

दक्षिण अफ्रिकाका पूर्वक्रिकेटर रोड्स ‘राइज अफ द क्रिकेटिङ स्टार्स वीथ जोन्टी रोड्स’ कार्यक्रमका लागि नेपाल आएका हुन् ।

जोन्टी रोड्सलाई नेपाल क्रिकेट स्कुल र स्पोर्ट्स एड प्रालिले नेपाली युवा क्रिकेट खेलाडीलाई प्रशिक्षण दिन नेपाल ल्याएको हो ।