
लालीगुराँस फुलेर ढकमक्क बन्दै गरेको तीनजुर क्षेत्रमा नेपालकै विभिन्न सहर र भारतसहित विभिन्न ३८ देशका ५०० बढी पर्यटकहरु घुम्नका लागि आएका हुन् ।
विश्वमा पाइने ४२ प्रजातिका गुराँसमध्ये यहाँ एउटै वनमा २८ प्रजातिका पाइने कारणले यो क्षेत्र गुराँसको राजधानीकोरुपमा परिचित छ ।
फागुनदेखि यहाँका डाँडाकाँडा गुराँसले राताम्मे बन्दैछन् । यो वर्ष केही ढिलागरी गुराँस फुल्न थालेपनि तीनजुरेका डाँडापाखा गुराँसले सिंगारिँदैछन् ।
उच्च पहाडी हावापानी, यहाँको सुन्दरता र लेकाली जनजीवनमा रमाउन पर्यटकहरु आउने गर्दछन् ।
संगीत र कलाको पर्वकोरुपमा ‘शक्ति पिक फेस्टिभल’ नाम दिइएको कार्यक्रमका लागि ३८ देशका कला र संगीतका पारखीहरु यहाँ आएका मादी नगरपालिका–९ का वडाध्यक्ष पासाङ शेर्पाले बताए ।
‘भारतसहित एसिया, अमेरिका र युरोपकासमेत गरी ३८ बढी देशका कलाकारहरु यहाँ आएका छन्, उनीहरु सबैले यहाँको प्राकृतिक दृश्य, गुराँस र हावापानीसँगै संगीतमा रमाएर पाँच दिन बिताउँछन्’–उनले भने ।
मार्च २३ देखि सुरु भएको शक्ति पिक फेस्टिभल मंगलबार सकिँदैछ ।
पर्यटकहरु मंगलबारे र गुफाबजारको मध्यभागमा रहेको खुला चौरमा टेन्ट टाँगेर बसेका छन् । चौरमै खाने, बस्ने, सुत्ने र रमाउने प्रबन्ध गरिएको छ ।
गुफा र सुकेबजारका २० बढी होटलमा अटाएकाबाहेक अन्यलाई टेन्टमै सुत्ने व्यवस्था मिलाइएको कार्यक्रमका प्रबन्धक सुवास केसीले जानकारी दिए ।
पर्यटकहरु रमाउनका लागि प्रयोग भएको संगीतले यतिबेला तीनजुरे घन्किएको छ ।
तेह्रथुमको मेन्छ्यायेम गाउँपालिका र संखुवासभाको मादी नगरपालिकाको सीमा क्षेत्रमा बसेका पर्यटकले यहाँको प्राकृतिक आकर्षणमा रमाएर दिन बिताएका गुफाबजारकी हिमा खनालले बताइन् ।
उनले भनिन्–‘यतिका धेरै पर्यटक एकैपटक धान्ने हामीकहाँ क्षमता छैन, बजारका होटल खचाखच छन्, बाँकी त चौरमै सुतेका छन् ।’
एकैपटक धेरै पर्यटक आउँदा उनीहरुलाई खानेपानी, शौच गर्ने व्यवस्था र अरु आवश्यक सुविधा उपलब्ध गराउन समस्या भएको उनले बताइन् ।
यहाँको आकर्षणबारे विश्वमा प्रचार गरी आगामी दिनमा पर्यटन व्यवसायलाई प्रवद्र्धन गर्न र यो क्षेत्रको विकासमा सहयोग पुर्याउने उद्देश्यले कार्यक्रम यहाँ राखिएको मादी नगरपालिका–९ का वडाध्यक्ष शेर्पाले बताए ।
उनले भने–‘अहिले हामीले उनीहरुलाई निःशुल्क स्वागत ग¥यौं, अब आगामी दिनमा पनि स्वागत गर्छौं तर शुल्क लिएर ।’
आफ्नो नगर क्षेत्रभित्रको भूभाग भएकाले उनीहरुले गर्ने फोहोर व्यवस्थापन र बस्ने स्थान तथा सुरक्षालगायतमा आफूले व्यवस्थापन मिलाइदिएको उनले बताए ।
रंगीचंगी गुराँस, गुफापोखरी, लामपोखरी, मेन्छ्यायेम डाँडा र यहाँको प्रकृतिसँग रमाइरहेका धेरै विदेशी नागरिकहरुले यो ठाउँ आश्चर्यलाग्दो भएको बताए ।
‘यो ठाउँ धेरै राम्रो लाग्यो, हामी सबै यहाँ रमाएका छौं’–जर्मन नागरिक डिजे इगुनाले भने ।
नेपाल घुम्न आएका र सो फेस्टिभलमा सामेल हुन चाहने पर्यटकहरुलाई व्यवस्थापकले धनकुटाको होराइजन रिसोर्टमा जम्मा गरेर तीनजुरे ल्याएको थियो ।
उच्च लेकाली क्षेत्रको हावापानीमा रमाउँदै यहाँको मनोरम प्राकृतिक दृश्यावलोकन र विभिन्न प्रजातिका गुराँसको अवलोकन गर्दै संगीतमा झुम्ने उद्देश्यले आयोजित फेस्टिभलमा नेपाली तथा आन्तरिक पर्यटककोसमेत घुँइचो लागेको छ ।
विदेशी पर्यटकहरु आएर यहाँको प्रकृतिसँग झुम्न थालेपछि जिल्लाकै आन्तरिक पर्यटकहरु पनि तीनजुरेका डाँडाकाँडा पुगेका छन् ।
यो सातामात्रै दैनिक सयौंको संख्यामा आन्तरिक पर्यटकहरु आएका तीनजुरे–मिल्के पर्यटन सूचना केन्द्रका अध्यक्ष केदारनाथ लिम्बूले बताए ।
उनले भने–‘तेह्रथुम, धनकुटा, धरान, विराटनगरदेखि धेरै मान्छेहरु आए, विदेशीसँगै रमाए र फिरे ।’
उनीहरुलाई यहाँको स्थानीय परिकार खुवाउनबाहेक अरु सेवा नपुगेको उनले बताए ।
गुराँसको सुन्दरताले तानेर गुफापोखरी पु¥याएको धरानको फ्रन्डस् गार्डेन रिसोर्टका प्रबन्धक सुमन श्रेष्ठले बताए ।
‘गुराँस, गुफापोखरी र यहाँका डाँडाकाँडा सुन्दर लाग्यो । अहिले पर्यटकले बस्ने ठाउँ नै पाइएन । फेरि आउने योजना बनाएर फर्कियौं’–उनले भने ।
तीनजुर–मिल्के क्षेत्रको गुफापोखरीसम्म जान–आउन अहिले सडकले सुविधा भएको छ ।
पहिले दुई दिन पैदल हिँडेर गुफापोखरी पुग्नेहरु अहिले धरानबाट एकैदिनमा गुफा पुगेर फेरि धरानै फर्कन्न सक्छन् ।
बसन्तपुरदेखि गुफा जोड्ने सडक स्तरोन्नति भइरहेका कारण यहाँ आउने पर्यटकहरुलाई केही हदसम्म सहज भएको छ ।
नगरपालिकाले गुराँस पार्क बनाउने
संखुवासभाको मादी नगरपालिकाले पर्यटकलक्षित गरी गुराँसको पार्क बनाउने भएको छ ।
नगरपालिकाले गुराँस पार्क निर्माण गर्ने र आम्दानीको राम्रो स्रोत बनाउने तयारी गरेको मेयर विदुर लिङ्थेपले बताए ।
गुराँस वनकोरुपमा चर्चित यहाँको सुन्दरतालाई बढावा दिएर गुराँस पार्क निर्माण गर्ने र विदेशी पर्यटकहरुसहित आन्तरिक पर्यटकहरुलाई साता दिनसम्म यहाँ रहने वातावरण बनाउने योजना निर्माण भइरहेको उनले बताए ।
‘नगर क्षेत्रको सम्पत्ति भनेकै यही हो, अब यसैलाई जोगाएर आम्दानी गर्ने र समृद्धिको यात्रा तय गर्ने योजना छ’–उनले भने ।
प्रतिक्रिया दिनुहोस्