
खार्पुनाथ गाउँपालिका वडा नम्बर–२ की २५ वर्षीया मुनदेवी छत्यालको सुत्केरी भएपछि साल अड्किएर धेरै रगत बगेका कारण ज्यान गएको हो ।
बुधबार बिहान २ बजेतिर घरमै सुत्केरी भएकी छत्यालको साल अड्किएर लगातार एक घन्टा उच्च रक्तश्राव हुँदा ३ बजेतिर मृत्यु भएको मृतकका आफन्तले बताएका छन् ।
रक्तश्राव धेरै भएपछि स्वास्थ्यकर्मीलाई बोलाइएपनि स्वास्थ्यचौकीबाट स्वास्थ्यकर्मी पुग्नुअघि नै छत्यालको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा. रञ्जितकुमार यादवले जानकारी दिए ।
यसअघि दुई छोरी रहेकी मृतक छत्यालले तेस्रो सन्तानकोरुपमा छोरी जन्माइन् । तर, उनको भने ज्यान गयो ।
बच्चालाई जिल्ला अस्पताल, हुम्लामा ल्याइ चेकजाँच गर्दा बच्चा स्वस्थ रहेको र एसओएस बालग्राम सुर्खेत लैजाने तयारी भइरहेको डा. यादवले बताए ।
‘स्वास्थ्यकर्मीलाई समयमै खबर गरेको भए महिलाको ज्यान बचाउन सकिने अवस्था हुनसक्थ्यो । साथै, नियमित गर्भजाँच तथा सुत्केरी गराउँदा स्वास्थ्य केन्द्रमा जानुपर्छ भन्ने ज्ञान नभएकाले पनि छत्यालको ज्यान गएको देखिन्छ’–डा. यादवले भने ।
सरकारले कर्णालीका महिलाहरुलाई सुत्केरी हुन नसकेमा ‘एअर लिफ्टिङ’को व्यवस्था गरेको भएपनि स्थानीयस्तरमा यसबारे थाहा नहुँदा पनि अकालमै सुत्केरी महिलाहरुको ज्यान जाने गरेको छ ।
प्रतिक्रिया दिनुहोस्