२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


श्वेतपत्र सार्वजनिक, सरकारी ढुकुटी रित्तो अवस्थामा : अर्थमन्त्री


0
Shares

अर्थमन्त्री डा. युवराज खतिवडाले शुक्रबार संसदसमक्ष श्वेतपत्र प्रस्तुत् गरेका हुन् ।

अर्थमन्त्री खतिवडाले सरकार गठन हुँदाको अवस्थामा नेपालको अर्थतन्त्र निकै चुनौतीपूर्ण रहेको उल्लेख गरे ।

बजेट अनुशासन पालना नहुँदा सरकारी ढुकुटी लगभग रित्तो अवस्थामा पुगेको उनले जानकारी गराए ।

उनले उत्पादनमूलकभन्दा वितरणमुखी बजेटका कारण अपेक्षित उपलब्धि हात पार्न नसकिने अवस्था आएकोसमेत उल्लेख गरे ।

वित्तीय क्षेत्रको पुँजी परिचालन आर्थिक वृद्धिसँग प्रत्यक्ष जोडिन नसकेको, पुँजी निर्माणका क्रियाकलाप सुस्त रहेको श्वेतपत्रमा जनाइएको छ ।

देशको समष्टिगत आर्थिक परिसूचकहरु सकारात्मक रहेपनि गैरबजेटरी खर्चमा नियन्त्रण हुन नसकेको अर्थमन्त्री खतिवडाले उल्लेख गरे ।

संविधानबमोजिम जेठ १५ मै बजेट आइ अघिल्लै वर्षमा बजेट पारित भएपनि कार्यान्वयन पक्षमा सुधार आउन सकेको छैन ।

पुँजीगत खर्च बढाउन सरोकारवाला निकायबाट ठोस कार्य नभएको श्वेतपत्रमा उल्लेख छ ।

संघीयता कार्यान्यवयनसँगै सरकारी खर्चको मात्रा बढे पनि त्यसअनुरुप राजश्व बढ्न नसकेको जनाइएको छ ।

व्यापार घाटा बढ्दै जानु, रेमिट्यान्स घट्दै जानु अर्थतन्त्रका चुनौती रहेको सरकारको भनाइ छ ।

पछिल्लो समय प्रभावित रहँदै आएको पुँजीबजारलाई सम्बोधन गर्दै अर्थमन्त्री खतिवडाले नेपालको पुँजीबजार सतही रहनुका साथै यसको दायरा संकुचित रहेको बताए ।

पुँजीबजार कारोबारको मूल्य दर्शाउने नेप्से सूचकांक अस्थीर रहेको छ । कारोबारमा यथार्थ सूचना सम्प्रेषणको अभाव, पारदर्शिताको कमी तथा साना लगानीकर्ताहरुमा सेयर लगानीसम्बन्धी ज्ञानको कमीले नेप्से सूचकांकमा उच्चदरको उतार–चढाव आउने गरेको अर्थमन्त्रीले जिकिर गरे ।

संस्थागत लगानीकर्ताको कमी र तरलताको अभावसंगै बढ्दो ब्याजदर तथा सेयर आपूर्तिमा भएको वृद्धिले शेयर मूल्य प्रभावित भएको श्वेतपत्रमा उल्लेख छ ।

पुँजीबजारमार्फत् ठूलो परिमाणको स्वलगानी परिचालन गर्न संस्थागत र नीतिगत सुधारको आवश्यकता देखिएको खतिवडाले उल्लेख गरेका छन् ।