३ जेष्ठ २०८२, शनिबार | Sat May 17 2025


भारत भ्रमणमा कलाकारलाई पनि स्थान : प्रधानमन्त्री, नीर शाहलाई ‘दीर्घ साधना’ सम्मान


0
Shares

नेपाल कलाकार संघद्वारा शुक्रबार राजधानीमा आयोजित दोस्रो फान अवार्ड कार्यक्रममा प्रधानमन्त्री ओलीले समयको मागअनुरुप चलचित्र निर्माण हुन सकेमामात्र यस क्षेत्रको विकास र उन्नति हुनसक्ने बताउँदै आफ्नो भारत भ्रमणमा कलाकारलाई पनि स्थान दिइने जानकारी दिए ।

छिट्टै भारत र नेपालका कलाकारबीच अन्तरक्रिया गरी कला क्षेत्रको विकास र विस्तारमा थप सहयोग गर्ने प्रधानमन्त्री ओलीको भनाइ छ ।

उनले भने–‘कला क्षेत्रको विकास गर्न सरकारको तर्फबाट सक्दो सहयोग गर्छु, कलाकारले सामाजिक जीवनको समग्रताको पक्षमा चलचित्र निर्माण गर्नुपर्छ ।’

शाहलाई ‘दीर्घ साधना’ सम्मान
५० वर्ष कला क्षेत्रमा बिताएका कलाकार नीर शाह शुक्रबार ‘दीर्घ साधना’बाट सम्मानित भएका छन् ।

६५ वर्षीय शाहलाई रु एक लाख ११ हजार १११ र ताम्रपत्रसहित सम्मान गरिएको हो ।

शाहले सम्मानपछि पछिल्लो समय चलचित्र उद्योग गर्व गर्नलायकको जनाउँदै जीवनको उत्तराद्र्धकालमा आफूलाई ठूलो सन्तुष्टि मिलेको बताए ।

नेपाल कलाकार संघका अध्यक्ष रामकेशर बोगटीले कलाकार संघको भवन निर्माणका लागि जग्गा प्रदान गर्न सरकारसँग आग्रह गरे ।

संघका महासचिव सरिता लामिछानेले चलचित्रको विकास र विस्तारका लागि सरकारले सहयोग गर्नुपर्नेमा जोड दिइन् ।

प्रोत्साहनका लागि नयाँ कलाकार प्रदीप खड्कालाई पनि सम्मान गरिएको थियो । रासस