उत्खनन्को पर्खाइमा तामाखानी • Image Khabar Image Khabar


उत्खनन्को पर्खाइमा तामाखानी


Imagekhabar
१७ चैत्र २०७४, शनिबार १५:४८

उत्खनन्को पर्खाइमा तामाखानी

नर्जाखानी, भित्रिवन र पात्ले गाउँनजिक अहिले पनि तामाखानीका सुरुङ र अवशेष बाँकी छन् ।

वि.सं. १९८१ मा बन्द भएका तामाखानी उत्खनन् हुन सकेका छ्रैनन् । तत्कालीन सरकारले कर (भेजा उठाउने) चल्ती बसालेपछि स्थानीयवासीले तामा निकाल्न छाडेका थिए । रैथाने छन्त्याल जातिले घरेलु प्रविधिबाट तामा निकाल्ने गर्थे ।

स्थानीय ७४ वर्षीया दिलबहादुर छन्त्यालले श्री ३ चन्द्रशमशेरको पालाबाट खानी खन्न बन्द भएको बताए । उनकाअनुसार त्यसताका छन्त्यालको मुख्य पेसा नै खानी खन्ने थियो ।

‘बाजे, पुर्खाले माटो सुँघेर खानी पत्ता लगाउँथे’–उनले भने–‘अहिले सबै हराएर गयो ।’

तमानखोला क्षेत्रका थुप्रै ठाउँमा तामाखानी रहेको विष्णु आधारभूत विद्यालयका प्रधानाध्यापक ओमप्रसाद छन्त्यालले बताए ।

संरक्षण र उत्खनन् हुन नसक्दा तामाखानीको अस्तित्व नै संकटमा पर्न थालेको उनको भनाइ छ ।

‘खोज, अनुसन्धान र उत्खनन् गर्ने हो भने यहाँ तामाखानीको प्रचुर सम्भावना छ’–उनले भने–‘तर यसतर्फ कसैको ध्यान गएको छैन ।’

करबापत तामा नै सरकारलाई बुझाउने प्रावधान आएपछि पुरानो पुस्ताले खानी खन्न छाडेको बताइन्छ । राज्यलाई तिर्नुपर्ने करलाई त्यसबेला ‘भेजा’ उठाउने भन्ने चलन रहेको प्रअ छन्त्यालले बताए ।

‘हाम्रो ठाउँमा कर उठाउने जिम्मा सात गाउँका डिट्ठा वर्षवीर छन्त्यालले लिएका थिए’–उनले भने–‘कर बढी लागेपछि गाउँलेले खानी खन्नै बन्द गरेका थिए ।’

खानीबाट निकालिएको तामा महँगा भाँडावर्तन र सिक्का बनाउन प्रयोग गर्ने गरिन्थ्यो । खानीमा महिनौं बिताएर उत्खनन् गरेको तामाबाट स्थानीयवासीले जीविकोपार्जन गर्दै आएका थिए । उनीहरुले एक पाथी कच्चापदार्थबाट साढे ७०० ग्रामसम्म तामा निकाल्ने गर्थे ।

तामा उत्खनन्को जिम्मा छन्त्यालले लिएपनि त्यसलाई आफर लगाउने (पगाल्ने) काम दलित र बेच्ने काम थकालीले गर्ने गर्थे ।

तामाखानी उत्खनन्का लागि सरकारी तवरबाटै पहल हुनुपर्ने वार्ड नम्बर–५ का अध्यक्ष कुलबहादुर छन्त्यालले बताए । पहिले खानी खनेका ठाउँमा एक किलोमिटरभन्दा लामा सुरुङ रहेको उनको भनाइ छ ।

‘सुरुङ रहेकै ठाउँमा उत्खनन् गर्न सकिए तामाखानी भेटिन्छ’–उनले भने–‘खोज, अनुसन्धानमा आधुनिक प्रविधि र यन्त्रको प्रयोग गर्नुपर्छ ।’

तामाखानी उत्खनन् गरेर सन्चालनमा ल्याउनसके रोजगारी सिर्जनाका साथै ठूलो आर्थिक लाभ लिन सकिन्छ । नेपाली बजारमा अहिले पनि आयातित तामाका भाँडा बिक्री–वितरण भइरहेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्