२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


संकटाको शतप्रतिशत नतिजा कायमै, आर्मीले पुलिसलाई हरायो


0
Shares

काठमाडौं, मंसिर ७ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा संकटा क्लबले शतप्रतिशत नतिजालाई कायमै राखेको छ ।

लगातार तेस्रो खेलमा जित हासिल गर्दैै संकटा मनाङ–मर्स्याङ्दीसँगै शतप्रतिशत नतिजा निकाल्ने टिममा गनिएको हो ।

तेस्रो खेलमा संकटाले शुक्रबार मच्छिन्द्र क्लबलाई २–० ले हरायो । संकटाले दुवै गोल मध्यान्तरपछि गरेको हो ।

६४औं मिनेटमा नितिन थापाले संकटालाई अग्रता दिलाएका थिए भने अमित तामाङले ८६औं मिनेटमा गोल गर्दै अग्रतालाई दोब्बर बनाएका थिए ।

आर्मीले पुलिसलाई हरायो

त्यसैगरी, त्रिभुवन आर्मी क्लबले महत्वपूर्ण जित हासिल गर्नेक्रममा उपाधिको दावेदार नेपाल पुलिस क्लबलाई १–० ले हराएको छ ।

शुक्रबारै भएको खेलको ३०औं मिनेटमा टेकबहादुर बुढाथोकीले गरेको गोल नै आर्मीलाई जिताउन निर्णायक गोल बन्यो ।

बीबीसीले खाता खोल्यो

यस्तै, ब्रिगेड ब्वाइज क्लबले लगातार दुई हारपछि पहिलो जित हासिल गरेको छ ।

शुक्रबारै भएको पहिलो खेलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबमाथि ३–१ को शानदार जितसहित ब्रिगेडले महत्वपूर्ण ३ अंक हासिल गरेको हो ।

खेलको ६०औं मिनेटमा सशस्त्रका रुपबहादुर लामाले गोल गर्दै टिमलाई अग्रता दिलाएपनि त्यसपछि ब्रिगेडका मनोज राई, काजुदिन आदुउनी र काजिम आदिबोकेले गोल गर्दै ब्रिगेडलाई ठूलो सफलता दिलाए ।

अंकतालिकामा ठूलो फेरबदल

यी खेलपछि लिगको अंकतालिकामा ठूलै फेरबदल आएको छ ।

मनाङ र संकटाको समान ९ अंक हुँदा ७ अंकको आर्मी तेस्रो स्थानमा पुगेको छ ।

६ अंकबाट थ्रीस्टार चौथो स्थानमा झर्दा च्यालस युथ क्लब, हिमालयन शेर्पा, पुलिस र सशस्त्र समान ४ अंकबाट क्रमशः पाँचौं, छैटौं, सातौं र आठौं स्थानमा छन् ।

ब्रिगेडले ३ अंकबाट नवौं स्थानमा फड्को मार्दा मच्छिन्द्र २ अंकबाट दशौं तथा एनआरटी १ अंकबाट एघारौं स्थानमा झरेको छ ।

फ्रेन्ड्स, सरस्वती र जावलाखेल युथ क्लबले भने अंकको खाता खोल्न सकेका छैनन् ।