२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


प्रधानमन्त्रीको भारत भ्रमणमा पञ्चेश्वर आयोजनाले प्राथमिकता पाउने आशामा बैतडीबासी


0
Shares

लामो समयदेखि चर्चामा रहेको पञ्चेश्वर आयोजनाको काम अघि बढ्न नसकेकाले यसलाई अघि बढाउनका लागि प्रधानमन्त्रीको भ्रमणले सहयोग पुग्ने आशा गरिएको पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दले बताए । उनले भने, ‘पञ्चेश्वर आयोजना धेरै पहिलादेखि चर्चामा रहेको भएपनि अहिले सम्म कार्यान्वयनमा आउन नसकेकाले यसलाई कार्यान्वयनमा ल्याउन प्रधानमन्त्रीले चासो दिनुपर्छ ।’

शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउदले पञ्चेश्वर आयोजना यसअघिका भ्रमणका बेला पनि चर्चा आउने गरेको बताउँदै अब काम हुने हिसाबले चर्चा हुनुपर्ने बताए ।

पञ्चेश्वर बहुउद्देश्यीय आयोजना बैतडीमात्रै नभएर प्रदेश ७ कै समृद्धिसँग जोडिएकाले यसलाई जसरी पनि अघि बढाउनुपर्ने स्थानीयबासीको भनाइ छ । नेपालका तर्फबाट सन् १९९५ मा पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत आयोजना प्रतिवेदन बनेको भए पनि खासै काम अघि बढ्न सकेको छैन ।

पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाबाट ६ हजार ४८० मेगावाट विद्युत उत्पादन हुने देखिएको छ । भारतले यो आयोजना निर्माणका लागि चासो नदेखाएको कतिपय जानकारहरुले बताएका छन् ।

पञ्चेश्वर बहुउद्देश्यीय आयोजनालाई प्रदेश सभा र प्रतिनिधि सभा सदस्य निर्वाचनको बेला समेत बैतडीका सबै उम्मेदवारले चुनावी एजेण्डा बनाएका थिए । निर्वाचनका बेला आफुले जितेमा बहुप्रतिक्षित पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको निर्माण कार्य अगाडी बढाउने उनीहरुले बताएका हुन् ।

पञ्चेश्वर उच्च बाँधको निर्माणबाट आयोजना क्षेत्रका नागरिकलाई असरसँगै विभिन्न फाईदा पनि हुने विस्तृत वातावरणीय व्यवस्थापनको योजनामा उल्लेख गरिएको छ । बाँध निर्माणको क्रममा हजारौं नागरिकले रोजगारी पाउनेछन् भने बाँध निर्माणका लागि ८ हजार बढी कर्मचारीको आवश्यकता पर्ने जनाएको छ ।

यस्तै निर्माणकै क्रममा पनि होटल व्यवसाय पनि फस्टाउने छ भने आयोजना क्षेत्रमा बसोबास गर्ने नागरिकलाई लामो समय रोजगारी मिल्नेछ । जलाशय निर्माण पश्चात पानीको सतहको क्षेत्रफल तथा आयतन बढ्दा मत्य उत्पादनमा बृद्धि हुने, पर्यटनको विकासमा टेवा पुग्ने, रोजगारी बृद्धि भई नागरिकलाई जीविकोपार्जन गर्न सहज हुने तथा गरिवी निवारणमा टेवा पुग्ने विज्ञहरुको भनाइ छ ।

विस्तृत वातावरणीय व्यवस्थापन योजनामा असरहरु औंल्याएर समाधानका लागि पनि १० ओटा मुख्य उप–योजना यसअघि नै बनाईएको छ । निर्माण प्रभाव व्यवस्थापन योजना, जल ग्रहण क्षेत्र व्यवस्थापन योजना, प्रदुषण व्यवस्थापन योजना, वन संरक्षण तथा व्यवस्थापन योजना, वन्यजन्तु संरक्षण तथा व्यवस्थापन योजना, माछा व्यवस्थापन योजना, जडीबुटी व्यवस्थापन योजना, कृषि सहयोग योजना, पञ्चेश्वर सहयोग योजना र पर्यटन विकास योजना तयार गरिएको छ ।

यी योजनाहरुमा प्रभावित क्षेत्रमा देखिने सबै किसिमका असर तथा प्रभावहरुबाट उत्पन्न समस्या समाधानका लागि गरिने कार्य तथा गतिविधि सुचिकृत गरिएको छ । विकास हुने संरचना निर्माणको क्रममा हुने वातावरणीय क्षतिलाई व्यवस्थापन गर्दै आयोजनालाई दिगो बनाउन यी योजना लागू हुने वातावरणविदहरुको भनाइ छ ।