Logo २७ असार २०८३, शनिबार | Sun Jul 12 2026


काभ्रेमा मयूरपछि साझा र सिटी मेट्रो यातायातको सेवा


0
Shares

बुधबार बिहानैदेखि काभ्रे बस र काभ्रे मिनिबस सेवा समितिअन्तर्गत् चल्ने सार्वजनिक यातायातले सेवा बन्द गरेसँगै यातायात व्यवस्था विभागबाट रुट परमिट लिएर काठमाडौं–धुलिखेल बस सेवा सन्चालन गर्न पाउने व्यवस्था गरिएपछि बस सेवाहरुले बुधबारदेखि नै काठमाडौंदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्म सेवा दिएका हुन् ।

यातायात व्यवस्था विभागका सूचना अधिकारी तुल्सीराम अर्यालले विभागले गरेको आह्वानअनुरुप बुधबारमात्रै सातओटा यातायात सेवा समितिले अस्थायी रुट परमिट लिएर बस सेवा सन्चालनमा ल्याएको बताए ।

‘ती सेवा समितिहरुले आजका लागि अस्थायी इजाजतपत्र लिएका हुन्, उनीहरुले चाहेको खन्डमा स्थायी इजाजतपत्र लिएर निरन्तर सेवा दिन सक्नेछन्’–अर्यालले भने ।

यातायात व्यवस्था विभागले बुधबारदेखि नै यातायात व्यवसायीहरुलाई सवारी सन्चालन इजाजतपत्र (रुट परमिट) खुलाएको हो ।

इजाजतपत्र लिन अनुमति खुलेसँगै बुधबारदेखि काठमाडौंबाट काभ्रेपलाञ्चोकको बनेपा हुँदै धुलिखेल र पनौतीसम्मसमेत साझा, मयूर र सिटी मेट्रो यातायात प्रालिले सेवा दिन सुरु गरेका छन् ।

जिल्लामा पुराना बस व्यवसायीले दिँदै आएको सेवासँगै नयाँ बस सेवा समितिले पनि थप सुविधासम्पन्न बस सेवा दिन थालेपछि यात्रीहरु खुसी भएका छन् ।

‘हामी सधैं पुराना बसमा यात्रा गर्नुपर्थ्यो, अहिले नयाँ बस सेवा समितिले सुविधासम्पन्न सेवा दिन थालेकोमा धेरै खसी छु’–स्थानीय बासिन्दा अशोक खनालले भने । रासस