
वि.सं. २०७२ साल वैशाख १२ गते गएको शक्तिशाली भूकम्पले भक्तपुरका ऐतिहासिक धरोहरहरुमा ठूलो क्षति पुगेको थियो ।
सुरुका केही महिना ऐतिहासिक सम्पदाहरुको पुनःनिर्माणमा अन्योल भइरहेका बेला पछिल्लो समयमा भने भक्तपुर नगरपालिकाले पुनःनिर्माणमा तीव्रता दिएको हो ।
सम्पदा पुनःनिर्माण गर्न भक्तपुर नगरपालिकाले कुनैपनि कम्पनीलाई ठेक्का नदिइ आफैं काम गरिरहेको छ ।
खासगरी भक्तपुर दरबार क्षेत्रभित्र पर्ने विभिन्न मन्दिर र भत्किएका संरचनाहरुको पुनःनिर्माण भक्तपुर नगरपालिकाले आफैंले गरेको हो ।
नगरपालिकाले आफैं काम गर्दा कमसल सामानको प्रयोगको खतरासमेत नरहेको भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिले बताए ।
नगरपालिकाले विभिन्न उपभोक्ता समिति गठन गरेर स्थानीयकै चन्दा र सहभागितासँगै पुनःनिर्माणलाई तीव्रता दिएको हो ।
ऐतिहासिक सम्पदामात्र होइन, मौलिक कलाका नमुना बस्ती बनाउनेहरुलाई नगरपालिकाले काठ र इँटामा ३० प्रतिशत नगद अनुदानको व्यवस्थासमेत गरेको छ ।
भैरवनाथ उपभोक्ता समितिका अध्यक्ष न्हुच्छेराम भेलेले जनश्रमदान, चन्दा र नगरपालिकाको सहयोगमा पुनःनिर्माणको काम भइरहेको बताए ।
उनले यसरी काम गर्दा ऐतिहासिक सम्पदाहरुमा नागरिकले अपनत्व महसुस गर्ने बताए ।
भक्तपुरमा पुनःनिर्माणमा खटिने दक्ष जनशक्ति भने अभाव छ । पुराना कलात्मक सम्पदालाई मौलिकरुपमै ढाल्ने जनशक्ति अभाव भएको स्थानीय बताउँछन् । तर, नगरपालिकाले गरिरहेको पुनःनिर्माणको कामप्रति भने उनीहरु सन्तुष्ट छन् ।
प्रतिक्रिया दिनुहोस्