२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


चलखेलले एकता रोक्न सक्दैन : दाहाल


0
Shares

माओवादी केन्द्रको संसदीय दलको बुधबार बसेको बैठकलाई सम्बोधन गर्दै उनले दुवै पार्टीलाई सहज हुनेगरी पार्टी एकता टुंग्याउने तयारी भइरहेको बताएका हुन् ।

बैठकमा अध्यक्ष दाहालले भने–‘पार्टी एकता प्रक्रिया सहज ढंगले अघि बढिरहेको छ । हिजोमात्र हामीले राजनीतिक प्रतिवेदन र विधान मस्यौदा कार्यदलको प्रतिवेदन बुझेका छौं । दुवै पार्टीलाई सहज हुनेगरी एकता टुंग्याउन हामी लागिरहेका छौं ।’

अध्यक्ष दाहालले राजनीतिक प्रतिवेदन मस्यौदा समितिको प्रतिवेदनमा दुवै पार्टीको मतैक्य रहेको बताए ।

उनले भने–‘मस्यौदा समितिले एकताको साझा प्रतिवेदन बुझाएको छ, त्यसमा हामी एकमत छौं । विधानका केही कुरामा साझा धारणा बन्न बाँकी छ, त्यसलाई एकता संयोजन समितिको बैठकमा टुंगो लगाउँछौं ।’

भित्र र बाहिर दुवैतिरबाट एकता हुन नदिन चलखेल भइरहेको भन्दै अध्यक्ष दाहालले कुनैपनि अवरोधले एकता प्रक्रियालाई रोक्न नसक्ने उल्लेख गरे ।

अध्यक्ष दाहालले भने–‘चलखेलले एकता रोक्न सक्दैन, सांसदहरुले पनि सचेत ढंगले एकताको पक्षमा भूमिका खेल्नुहोला । चलखेलबाट प्रभावित नभइ एकतालाई टुंगोमा पुग्नेगरी आफ्नो ठाउँबाट भूमिका खेल्नोस् ।’

अध्यक्ष दाहालले केन्द्रमा सहअध्यक्षको ‘मोडेल’मा जाने सहमति भएपनि प्रदेश, जिल्ला र स्थानीय तहमा कुन मोडेलमा जाने भन्ने विषयमा ठोस निष्कर्षमा नपुगिएको बैठकलाई जानकारी गराएको प्रवक्ता पम्फा भुसालले जानकारी दिइन् ।

संसदीय दलको बैठकमा पार्टीको संघीय संसदीय दलको विधानको प्रारुपबारेसमेत छलफल भएको थियो । रासस