
चितवन, असोज ६ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले विकास निर्माणका काममा सबैको एकता अपरिहार्य रहेको बताएका छन् ।
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल र पोखरा विश्वविद्यालयद्वारा सन्चालन गर्न लागिएको स्नातक तहको आंगिक नर्सिङ कार्यक्रमको बिहीबार भरतपुरमा उद्घाटन गर्दै उनले विकास निर्माण गर्ने जिम्मेवारी सबैमा रहेको बताए ।
शिक्षा, स्वास्थ्य, रोजगारीजस्ता विषयलाई संविधानले मौलिक अधिकारकारुपमा परिभाषित गरेको भन्दै उनले ‘स्वास्थ्य सबैभन्दा प्राथमिक कुरा हो । यो क्षेत्रमा काम गर्नेहरुको जिम्मेवारी अझै ठूलो छ’–भने ।
क्यान्सर रोग भयावह भएको र यसविरुद्ध लड्ने क्षमतालाई नयाँ उचाइमा पुर्याउने जिम्मेवारी सबैको काँधमा रहेको उनले उल्लेख गरे ।
धेरै कचिंगलहरु पार गर्दै यस अस्पताल प्रगतितिर अगाडि बढ्दै गएको भन्दै उनले दक्षिण एसियाकै नमुना यस अस्पताललाई अझै राम्रो बनाउन सुझाव दिए ।
यस कार्यक्रमले क्यान्सर रोगकाविरुद्ध लड्ने जनशक्ति निर्माण गर्न सहयोग पुग्ने विश्वास उनले व्यक्त गरे ।
कार्यक्रममा भरतपुर महानगरपालिकाका प्रमुख रेणु दाहाल र अस्पतालका कार्यकारी निर्देशक डा. विजयचन्द्र आचार्यले अस्पताललाई प्रतिष्ठानकारुपमा विकास गर्न यस कार्यक्रम उपयोगी हुने बताए ।
उनीहरुले क्यान्सरसम्बन्धी अध्ययन गरेका नर्स उत्पादन भएसँगै उपचारमा सहयोग पुग्ने पनि बताए ।
सो कार्यक्रमअन्तर्गत् यस वर्ष २० जना विद्यार्थीलाई स्नातक तहको नर्सिङ अंकोलोजी पढाइ गरिने अस्पतालका शैक्षिक कार्यक्रम संयोजक डा. शिवजी पौडेलले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्