पेट्रोलियम पाइपलाइन शिलान्यास, के हुँदैछ काम ? • Image Khabar Image Khabar


पेट्रोलियम पाइपलाइन शिलान्यास, के हुँदैछ काम ?


Imagekhabar
२४ चैत्र २०७४, शनिबार १४:४०

पेट्रोलियम पाइपलाइन शिलान्यास, के हुँदैछ काम ?

हैदरावाद हाउसमा आयोजित विशेष समारोहमा उक्त पाइपलाइनको शिलान्यास गरिएको होे ।

अमलेखजन्ज–रक्सौल–मोतिहारी खन्डमा गत फागुनको अन्तिम सातादेखि पाइपलाइन बिच्छ्याउने कार्य सुरु भइसकेको छ । हालसम्म करिब तीन किलोमिटर पाइपलाइन बिच्छ्याइसकिएको छ ।

मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन प्रोजेक्टका इन्जिनियर शरदप्रसाद पौड्यालकाअनुसार फागुन २५ गतेदेखि पाइपलाइन जडानको काम सुरु भएको हो ।

पाइपलाइन बिछ्याउन र वेल्डिङ गर्ने कामको ठेक्का भारत, महाराष्ट्रको लिखित इन्फ्रास्ट्रक्चरले पाएको छ ।

यस्तै, अमलेखगन्जस्थित नेपाल आयल निगम डिपोको चारओटा ट्यांकीको स्तरोन्नतिको काम पनि भइरहेको छ । भारत, फरिदावादको मोतिप्रभा इन्फ्राटेक प्रालिले ट्यांकी स्तरोन्नतिको काम गरिरहेको छ ।

कुल ६९ किलोमिटर लामो उक्त पाइपलाइनलाई रणनीतिक महत्वको परियोजनाकारुपमा लिइएको छ ।

इन्डियन आयल कर्पोरेसनको लगानीमा सन्चालित पाइपलाइन परियोजनाका लागि नेपालले पाइपलाइन ओछ्याउने स्थान र वीरगन्जका केही स्थानमा नेपाल आयल निगमले मुआब्जा वितरणको कामबाहेक सबै लगानी भारत सरकारकै रहेको छ ।

मोतिहारीदेखि रक्सौलसम्म ३२.७ किलोमिटर र रक्सौलदेखि अमलेखगन्जसम्म २६.२ किलोमिटर लामो पाइपलाइन परियोजनाको लागत प्रतिकिलोमिटर करिब भारु पाँच करोड लागत रहेको छ ।

परियोजनामा नेपालतर्फ राखिने ३१ किमिभन्दा बढी पाइप नेपाल भित्रिसकेको छ । पाइपलाइनमा कालो रङको स्टिलको पाइप प्रयोग गरिएको छ । उक्त पाइप भारत, महाराष्ट्रको सिमलेस लिमिटेडले उत्पादन गरेको हो ।

पाइपलाइन निर्माण भएपछि वीरगन्ज नाकामा भन्सार क्षेत्रमा हुने लामो जाम र भीडभाडसमेत अन्त्य हुने र वीरगन्ज–पथलैया–अमलेखगन्ज सडकखन्डमा ट्यांकरको चापसमेत घट्ने विश्वास लिइएको छ ।

तत्कालीन आपूर्तिमन्त्री सुनिल थापा र भारतको पेटोलियम तथा प्राकृतिक ग्यास राज्यमन्त्री धमेन्द्र प्रधानले दुई वर्षपहिले उक्त पाइपलाइन निर्माण गर्ने सम्झौता गरेका थिए ।

नेपालमा आयात हुने कुल पेट्रोलियम पदार्थमध्ये ५० प्रतिशत हिस्सा वीरगन्ज नाका भएर भित्रने भएकाले पनि सो पाइपलाइनको निर्माणपछि सहज अवस्था आउने विश्वास लिइएको छ ।

शिलान्यास समारोहमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव र उनका भारतीय समकक्षी धमेन्द्र प्रधानकोसमेत उपस्थिति थियो । यस्तै, नेपाली प्रतिनिधिमन्डलका सम्पूर्ण सदस्यसमेत सो अवसरमा उपस्थित थिए ।

सन् २०१७ भित्र नै सम्पन्न गर्ने लक्ष्य राखिएको पाइपलाइन आयोजना निर्माणको काम, नेपाल आयल निगम र आइओसी दुवै पक्षको नीतिगत निर्णयमा ढिलाइले गर्दा निर्माणसमेत ढिलो हुन पुगेको थियो ।

पाइपलाइन आयोजना निर्माण सुरु भएको ३६ महिनाभित्र सक्ने लक्ष्य राखिएको छ ।

पाइपलाइन आयोजना निर्माणका लागि भारतबाट ल्याइने पाइपलगायतका निर्माण सामग्री राख्नका लागि आयल निगमले वीरगन्जमा बन्द अवस्थामा रहेको वीरगन्ज चिनी कारखानाको जग्गा भाडामा लिएको छ ।

निगमले हाल भारतको बैरगनिया र रक्सौलमा रहेको आइओसीको डिप्पोबाट पेट्रोलियम पदार्थ डिजेल, पेट्रोल, मट्टितेल, हाई स्पिड डिजेल र हवाई इन्धन ट्यांकरमार्फत् अमलेखगन्जमा रहेको आयल निगमको डिपोमा आयात गर्दै आएको छ ।

पाइपलाइनमार्फत् पेट्रोलियम पदार्थ आयात गर्दा ढुवानी भाडा कम लाग्नाका साथै चुहावटमा पनि नियन्त्रण आउने आयल निगमको दाबी छ ।

पाइपलाइन आयोजना निर्माणपछि भारतको डिपोबाट प्रतिघन्टा दुई लाख लिटर इन्धन अमलेखगन्जको डिपोमा ल्याउने आयल निगमले लक्ष्य राखेको छ । पाइपलइन भविष्यमा विस्तार गरेर चितवनसम्म लैजाने लक्ष्य राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्