
उपराष्ट्रपतिको निवासमा शनिबार भएको भेटवार्तामा नेपाल–भारत सम्बन्धका विविध आयामकाबारेमा छलफल भएको थियो ।
सो अवसरमा नेपाल र भारतका जनताबीच रहेको मैत्री सम्बन्ध थप विस्तार हुँदै गएको र त्यसले आगामी दिनमा सम्बन्ध नयाँ उचाइमा पुग्ने प्रधानमन्त्री ओलीले विश्वास व्यक्त गरेका थिए ।
आफू मैत्रीपूर्ण सम्बन्धलाई नयाँ उचाइमा उठाउन भारतको भ्रमणमा आएको जानकारी दिँँदै प्रधानमन्त्रीले आर्थिक समृद्धि र विकासका मुद्दामा दुई देश मिलेर अगाडि बढ्ने सदीक्षा रहेको बताए ।
प्रधानमन्त्रीले नेपाल–भारतबीच मैत्री तथा भ्रातृत्व सदियौं पुरानो रहेको उल्लेख गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा दुई देशबीच सम्बन्ध अझै प्रगाढ हुने विश्वास व्यक्त गरे ।
सो अवसरमा उपराष्ट्रपति नायडुले सहज सम्पर्क विस्तार गरेर नेपाल–भारतबीच नयाँ आधारमा सम्बन्ध विस्तार हुँदै जाने बताए ।
उनले दुई प्रधानमन्त्रीबीच भएको भेटवार्तामा काठमाडौं जोड्ने रेल सञ्जाल विषयमा महत्वपूर्ण सहमति भएको जानकारी पाएको भन्दै त्यसले सम्बन्ध थप सहज बनाउने उल्लेख गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले जानकारी दिए ।
मौलाना आजाद रोडस्थित उपराष्ट्रपतिको निवासमा प्रधानमन्त्री ओलीले सो शिष्टाचार भेटवार्ता गरेका हुन् ।
यसपछि प्रधानमन्त्री ओली भारतीय राष्ट्रपति भवनमा फर्केर त्यहाँका वरिष्ठ मन्त्रीहरुसँग भेटवार्तामा व्यस्त रहनेछन् ।
प्रतिक्रिया दिनुहोस्