
नयाँ प्रधानमन्त्री बनेपछि भारत भ्रमण गर्ने नेपाली प्रधामनमन्त्रीको परमपरा जस्तै बनेको छ । प्रधानमन्त्री ओली पनि दोस्रो पटक प्रधानमन्त्री बनेपछि पहिलो भ्रमणमा भारत नै जानु भयो र भारतमा ओलीलाई राम्रो स्वागत सत्कार पनि मिल्यो । नेपालको संविधानप्रति असहमति जनाउँदै आएको भारतले यस भ्रमणका क्रममा त्यो कुरा उल्लेख गरेन, तर सांकेतिक रुपमा सबै वर्गलाई समेटी मुलुक निर्माणमा लाग्न भन्यो ।
विगतका सहमति कार्यान्वयन गर्दै जाने कुरा त भ्रमणमा भई नै हाल्यो । केही नयाँ सम्झौता पनि भ्रमणका क्रममा भए । रक्सौलदेखि काठमाडौं रेल मार्ग निर्माण, जलमार्गमा नेपालको पहुंच र कृषिमा भारतको सहयोग रहने कुरा यो भ्रमणको उपलब्धी मान्न सकिन्छ । तर सम्झौता कार्यान्वयन नहुने परिप्रेक्षमा सम्झौता हुनु नै ठूलो उपलब्धि नभएको टिप्पणी गर्छन् पूर्वराजदूत डा. जयराज आचार्य ।
यो भ्रमण सम्बन्ध स्थापित गर्ने हिसाबको मात्र भएको टिप्पणी उनको छ ।
कांग्रेस नेता डा. नारायण खड्का प्रधानमन्त्रीको भारत भ्रमण एमाले पार्टी र उसको नेतृत्वको भारतसँगको सम्बन्ध सुधारका लागि मात्र भएको टिप्पणी गर्छन् । भारतले पनि चीनबाट टाढा बनाउने अस्त्रको रुपमा ओलीको भव्य स्वागत गरेको उनको बुझाइ छ ।
विगतमा भएको सहमति अनुसार अहिले मोतीहारी अमलेखगन्ज पेट्रोललाईन बिस्तारको शिलान्यास भएको छ । पन्चेश्वर, अरुण ३ र सप्तकोशीको बारेमा पनि कुराहरु भएका छन् । तर प्रधानमन्त्री ओलीले भ्रमणमा निस्कनु अघि संसदमा बोलेका कुराहरु भारत भ्रमणका क्रममा नउठ्नु दुखद भएको टिप्पणी उनको छ ।
नेपाल भारत व्यापार घाटा निकै बढ्दै गइरहेको अवस्थामा त्यसलाई घटाउन ठोस पहल हुन नसकेको टिप्पणी आचार्यको छ । अझ रक्सौलदेखि काठमाडौंसम्म रेल गुडिहाले त्यसले झन व्यापारघाटा थप उच्च हुनेतर्फ अहिले नै ध्यान दिनुपर्ने उनको तर्क छ ।
केही उपलब्धी र केही कमजोरी यस्ता भ्रमणका नियति नै हुन् । जे सम्झौता भएका छन्, ती सम्झौता कार्यान्वयन हुन सकेमात्र बाँकी दिनले भ्रमणको सार्थकता पुष्टी गर्नेछ ।
प्रतिक्रिया दिनुहोस्