
भारतको तीनदिने राजकीय भ्रमण पूरा गरी आइतबार साँझ स्वदेश फर्किएका प्रधानमन्त्री ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा लिखित–अलिखित सहमतिहरुलाई मूर्तरुप दिन निरन्तर लागिरहने बताए ।
प्रधानमन्त्री ओलीले दुई देशबीच सुल्झन बाँकी विषयलाई उछाल्ने नभइ अब गम्भीर वार्ताबाट समाधान खोज्ने पनि बताए ।
भ्रमणकाक्रममा कुनै बनावटी कुरा नभएको भन्दै उनले आफू लोकतान्त्रिक प्रक्रियाबाट आएको अभिमत बोकेर भारत गएको र त्यसलाई भारतले पनि स्वागत गरेको उल्लेख गरे ।
प्रधानमन्त्री ओली भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा गत शुक्रबार भारत भ्रमणमा गएका थिए । भ्रमणकाक्रममा दुईपक्षीय हितमा केही महत्वपूर्ण सहमति भएका छन् ।
विशेषगरी नेपाल र भारतबीच जलमार्ग, रेलमार्ग र कृषि क्षेत्रमा केही महत्वपूर्ण सहमति भएका छन् ।
भारत भ्रमण रहँदा प्रधानमन्त्री ओलीले भारतीय समकक्षी मोदीसँग ‘वान टु वान’ तथा सामूहिक छलफल गरेका थिए ।
त्यस्तै, भारतीय राष्ट्रपति रामनाथ कोविन्द र उपराष्ट्रपति बैंकैया नायडूसँग शिष्टाचार भेटवार्ता गरेका थिए ।
भारतका मन्त्रीहरु, विभिन्न राजनीतिक दलका नेतालगायतले प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्