
जितेन्द्र भण्डारी (इमेज)
पाँचथर, मंसिर ५ । पाँचथरको फाल्गुनन्द गाउँपालिका–५, फाक्तेपमा एक व्यक्तिले धारिलो खुकुरी प्रहार गरी आफ्नी श्रीमतीको हत्या गरेका छन् ।
जेठी र कान्छी श्रीमतीबीच झगडा हुँदा ४३ वर्षीय नरबहादुर चेम्जोङले ४४ वर्षीया जेठी श्रीमती इन्द्रमाया चेम्जोङको हत्या गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
प्रहरी नायव उपरीक्षक नरेन्द्र कुँवरकाअनुसार मंगलबार राति नरबहादुरका दुई श्रीमतीबीच झगडा भएको थियो ।
सोक्रममा नरबहादुरले जेठी श्रीमती इन्द्रमायाको घाँटी र टाउकोमा खुकुरी प्रहार गर्दा उनको घटनास्थलमै ज्यान गएको हो ।
जेठी श्रीमतीको हत्या गरेर फरार भएका नरबहादुरलाई राति नै नवमिडाँडाबाट प्रहरीले पक्राउ गरेको थियो । उनलाई जिल्ला प्रहरी कार्यालय पाँचथरमा राखिएको छ ।
घटनाकाबारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
मृतक इन्द्रमायाकी एक छोरी छन् । नरबहादुरको कान्छी श्रीमतीपट्टीबाट एक छोरा र एक छोरी रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्