
सोमबार राजधानीमा रिपोर्टर्स क्लबद्वारा आयोजित साक्षात्कारमा बोल्दै उनले नेपालका कुनैपनि प्रधानमन्त्रीहरुको भारत भ्रमण अहिलेसम्म असफल नभएको तर्क गरे ।
‘अहिलेसम्म कुनैपनि प्रधानमन्त्रीको भ्रमण असफल भएको छैन । उहाँको भ्रमणपनि सद्भावपूर्ण भ्रमण थियो, सफल भएको छ । दुई देशबीचको सम्बन्ध सुधारमा महत्वपूर्ण भूमिका खेलेको छ । भ्रमण फलदायी र उपलब्धिमूलक भएको कांग्रेसको निष्कर्ष छ’–उनले भने ।
प्रधानमन्त्रीको भारत भ्रमणलाई असफल भन्न नमिल्ने उनले जिकिर गरे ।
डा. महतले भारतीय प्रधानमन्त्रीहरुको नेपाल भ्रमणपनि अहिलेसम्म असफल नभएको भन्दै अगाडि थपे–‘प्रधानमन्त्री ओलीजीको भारत भ्रमण सफल भयो । तर, ऐतिहासिक हुनुपर्ने केही कारण छैन ।’
नेपालको संविधान जारी हुँदा नेपाल–भारतबीच रहेको असमझदारीलाई स्वयं भारतले पनि ‘रियलाइजेसन’ गरेकाले भारत नेपालसँग सम्बन्ध सुधार गर्न इच्छुक रहेको उनको भनाइ थियो ।
प्रधानमन्त्री ओलीलाई विमानस्थलमा वरिष्ठ मन्त्रीले स्वागत गर्नु, पन्तनगरमा विद्यावारिधिको उपाधि दिनु र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग ‘वान–टु–वान’ भेटवार्ता हुनु नै राम्रो कुरा भएको उनको भनाइ छ ।
डा. महतले प्रधानमन्त्री ओली भारत भ्रमणमा जानुपूर्व परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँगको छलफलमा आफूले भारतसँग ठोस कुरा उठाउन सुझाव दिएको सुनाए ।
‘रेल आउने कुरा राम्रो हो । तर, भाषण गरेरमात्रै हुँदैन, यसका लागि लगानी कति लाग्छ, रेल ल्याउँदा अनुदानमा बनाउने हो कि ऋणमा बनाउने हो ? यी कुराकाबारेमा टुंगो लगाउनुपर्छ, रेल ल्याउनेबारे विस्तृत् अध्ययन बाँकी नै छ’–उनले भने । रेल आउनु राम्रो कुरा भएको उनको टिप्पणी थियो ।
उनले भने–‘प्राविधिक तथा आर्थिक पक्षबारे छलफल गर्न जरुरी छ, फाइदा तथा बेफाइदा हेर्नुपर्छ, भविष्यमा यसले कस्तो प्रतिफल दिन्छ ? त्यो पनि हेर्नुपर्छ ।’
जलमार्ग बनाउने कुरापनि आजभन्दा ४० वर्षअघिदेखि छलफल भइरहेको भन्दै डा. महतले ‘भाषणले यस्तो गर्छु भनेरमात्रै हुँदैन नि !’–भने ।
नेपाल र भारतबीच झन्डै ५÷६ खर्बको व्यापार घाटा रहेको सुनाउँदै पूर्वअर्थमन्त्रीसमेत रहेका उनले भने–‘हाम्रो निर्यात कम छ, व्यापार घाटा डरलाग्दो छ, नेपालका अदुवालगायतका वस्तुहरु निर्यात गर्न धेरै बन्धनहरु छन्, यसबारेमा कुरा गर्नुपर्दथ्यो, वाणिज्य सन्धि भएको भए राम्रो हुन्थ्यो ।’
हवाई रुट र वाणिज्यसम्बन्धी सन्धि भएको भए नेपालको अर्थ व्यवस्थामा ठोस उपलब्धि गराउने थियो भन्दै उनले त्यो हुन नसक्नु दुःखद भएको गुनासो पोखे ।
वर्तमान सरकारले ल्याएको श्वेतपत्रले निराशा ल्याएको उनको आरोप थियो । ‘श्वेतपत्रमा अर्थतन्त्रलाई अन्धकार देखाइएको छ । तर, अहिले ढुकुटी रित्तिएको अवस्था छैन, ढुकुटी रिक्तियो भन्नु गलत हो । पछिल्लो वर्षयता देशमा ६२ प्रतिशतले राजश्व वृद्धि भएको छ, सार्क मुलुकमै नेपालजति राजश्व उठाउने अरु कुनै देश छैन’–उनले भने ।
नेपालको अहिले वैदेशिक निर्भरता घटेको पनि डा. महतले सुनाए । उनले भने–‘यो त सवल पक्ष हो, यसबारे श्वेतपत्रमा कुनै कुरा उल्लेख गरिएको छैन् । मुलुकको अर्थतन्त्रलाई गलत देखाइएको छ, यो चिन्ताको विषय हो ।’
मुलुक संघीय सरंचनामा गएसँगै वित्तीय हिसाबले धेरै चूनौतीपूर्ण अवस्था रहेको कुरा आफूले धेरै पहिलेदेखि नै बोल्दै आएको उनले उल्लेख गरे ।
‘अब सरकारले फजुल खर्च नियन्त्रण गर्नुपर्छ, अनुत्पादक खर्च गर्न हुँदैन्, प्रतिफल दिने कुरामामात्रै लगानी गर्नुपर्छ’–उनले भने ।
यसअघिका सरकारहरुले उपभोग्य वस्तुमा खर्च गर्ने गरेको उनको आरोप थियो । बजेटमै नभएका योजनाका लागि बजेट छुट्याउनु दुःखद् भएको उनले गुनासो पोखे ।
नेता महतले कांग्रेसभित्र कुनै भाँडभैलो नभएको जिकिर पनि गरे । उनले भने–‘केन्द्रीय कार्यसमिति बैठकमा नेताहरुले आ–आफ्नो धारणा राखिरहनुभएको छ, यो कार्यसमिति बैठकले पार्टीलाई स्पस्ट दिशानिर्देश गर्छ । पार्टीभित्र अब गुटको राजनीति अन्त्य भयो । बरु, नेतृत्वको कमजोरीबारे अहिले चर्चा भइरहेको छ, पार्टीलाई सबल ढंगले अघि बढाउनेबारे बहस भइरहेको छ ।’
प्रतिक्रिया दिनुहोस्