१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


पाकिस्तानद्वारा नेपाललाई छात्रवृत्ति दोब्बर गरिएको घोषणा


0
Shares

पाकिस्तानका प्रधानमन्त्रीले हालै सम्पन्न आफ्नो औपचारिक नेपाल भ्रमणकाक्रममा गरेको उक्त घोषणाबमोजिम यहाँस्थित पाकिस्तानी दूतावासले पनि स्थानीय तहमा उपलब्ध गराउँदै आएको छात्रवृत्तिको संख्यामासमेत दोब्बरले बढोत्तरी गरेको छ ।

पाँच वर्षयता उक्त दूतावासले वर्षेनि प्राथमिक, माध्यमिक र उच्च माध्यमिक तहमा अध्ययनरत् जेहेन्दार एवं प्रतिभाशाली विद्यार्थीलाई प्रदान गर्दै आएको छात्रवृत्तिअन्तर्गत् छैटौं वर्षको छात्रवृत्ति प्रदान कार्यक्रम मंगलबार राजधानीमा सम्पन्न भयो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव खगराज बराल, नेपालका लागि पाकिस्तानी राजदूत मजहर जाबेद र नेपाल–पाकिस्तान साँस्कृतिक तथा मैत्री संघका अध्यक्ष हिमालयशमशेर जबराले संयुक्तरुपमा छात्रवृत्ति रकम प्रदान गरे ।

सोअनुसार काठमाडौं उपत्यकाका तीन जिल्लासहित ४० जिल्लाका सामुदायिक एवं केही निजी विद्यालयका २५० विद्यार्थीले जनही रु १० हजार पाएका छन् ।

दोलखा, ओखलढुंगा, रामेछाप, गोरखा, काभ्रेपलाञ्चोक, सिन्धुली, चितवन, लमजुङ, सोलुखुम्बु, पाल्पा, धादिङ, पर्वत, तनहुँ, स्याङ्जा, धनकुटा, सप्तरी, सर्लाही, सुर्खेत, बर्दिया, कैलाली, डडेल्धुरा, रुकुम दार्चुलालगायत जिल्लाका छात्रछात्रलाई छात्रवृत्ति प्रदान गरिएको हो ।

त्यसअवसरमा सचिव बरालले नेपालमा मानव संशाधन विकास तथा प्राविधिक जनशक्ति उत्पादनमा पाकिस्तानबाट निरन्तर सहायता प्राप्त भएकामा आभार व्यक्त गर्दै नेपाल र पाकिस्तानबीच कूटनीतिक सम्बन्ध स्थापना भएयता दुवै देशले अन्तर्राष्ट्रिय एवं क्षेत्रीय मञ्चमा समान अवधारणा प्रस्तुत् गर्दै आएका बताए ।

राजदूत जाबेदले पाकिस्तान–नेपाल सम्बन्धलाई थप प्रगाढ तुल्याउने महत्वपूर्ण माध्यमकारुपमा शैक्षिक उन्नयन एवं छात्रवृत्ति हो भन्दै सरकारी निर्णयअनुरुप आगामी वर्षदेखि छात्रवृत्ति सिट र संख्या शतप्रतिशतले वृद्धि गरिएको बताए । रासस