१२ श्रावण २०८२, सोमबार | Tue Jul 29 2025


हत्याको विरोधमा दुहबीमा प्रदर्शन, मेडिकलमा तोडफोड


0
Shares

विराटनगर, सुनसरी, मंसिर ५ । सुनसरीको दुहवीस्थित जयबाबा इँटा उद्योगका सुपरभाइजर महोम्मद फिदा हुसेनको गोली हानी हत्या भएको विरोधमा दुहबीमा प्रदर्शन भएको छ ।

उनको हत्यापछि स्थानीयले बुधबार धरान–विराटनगर सडकखन्डको दुहबी–सोनापुर सडकखन्ड अवरुद्ध पारेका छन् । उनीहरुले टायर बालेर प्रदर्शन गरिरहेका छन् ।

स्थानीयले दुहबी–५ स्थित अमरदीप मेडिकल हलमा पनि तोडफोड गरेका छन् । पसल बन्द गर्न नमानेको भन्दै प्रदर्शनकारीले कुटपिटसँगै तोडफोड गरेका हुन् ।

प्रदर्शनकारीले परिवारलाई क्षतिपूर्ति, दोषीलाई कारबाहीलगायतका माग राखेका छन् ।

बुधबार बिहान ‘मर्निङ वाक’मा गएको समयमा मोटरसाइकलमा आएका दुईजना अज्ञात व्यक्तिले हुसेनमाथि गोली प्रहार गरेका थिए ।

छातीमा गोली लागेका उनको उपचारका लागि विराटनगरस्थित नोबल अस्पतालमा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको शव नोबल अस्पतालमा नै राखिएको छ ।

गोली प्रहार गर्ने व्यक्तिको खोजी जारी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

यसअघि, सुनसरीको भुटाहामा स्थानीय खुर्सिद आलमको शंकास्पद हत्या भएको थियो ।

एकपछि अर्को गर्दै मुस्लिम समुदायमाथि आक्रमण भइरहेको भन्दै स्थानीयले विरोध प्रदर्शन गरिरहेका छन् ।

शृंखलाबद्धरुपमा एकपछि अर्को हत्या हुँदासमेत प्रहरी प्रशासन निरीह बनेको उनीहरुको आरोप छ ।