२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


९ दिन ८ रातसम्म मनाइने बिस्केट जात्रा सुरु


0
Shares

तौमढीबाट भैरव र भद्रकालीको रथ तानेर जात्रा सुरु भएको हो । यो जात्रा आगामी वैशाख ५ गते गःहिटी पुर्‍याएर सम्पन्न हुनेछ ।

जात्रा मंगलबार दिउँसोबाट सुरु भएको हो । जात्रामा मुख्यगरी भैरवको रथ तान्नेक्रममा पाँचतले मन्दिर तल र माथिका बासिन्दाबीच विगतमाजस्तै ढुंगा हान्ने र झगडा हुन नदिन जिल्ला प्रशासन कार्यालय भक्तपुरले सुरक्षा व्यवस्था कडा बनाएको छ ।

यो वर्ष जात्रालाई शान्तिपूर्ण बनाउन ३४ स्थानमा सीसी क्यामेरा जोडेर निगरानी गरिएको छ ।

जात्रामा सशस्त्र प्रहरी, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका गरी एक हजार ३०० भन्दा बढी सुरक्षाकर्मी परिचालित गरिएको प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक किरण राणाले जानकारी दिए ।

मदिरा बिक्री–वितरणमा रोक लगाइने र झगडा गर्ने एवं ढुंगा हान्नेलाई सार्वजनिक ऐनअन्तर्गत् मुद्दा चलाएर कारबाही गरिने प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले बताए ।

बिस्केट जात्राको पहिलो दिन भक्तपुरको पाँचतले मन्दिरअगाडि राखिएको काठै–काठले प्यागोडा शैलीमा बनाइएको तीनतले भैरवनाथको रथमा भैरवनाथको मूल देवता र बेताल देउता राखी पूजा गरिन्छ ।

साँझ रथ तानेर सुरु हुने जात्रामा टोल–टोलबीच प्रतिष्ठाका लागि रथलाई आ–आफ्नो पक्षमा राख्न होड चल्ने गर्दछ ।

नेवार समुदायले मनाउने ३० भन्दा बढी जात्रामध्ये वैशाख संक्रान्तिमा बिस्केट पर्व मनाइन्छ ।

विक्रम संबत्को नयाँवर्षलाई स्वागत गरी मनाइने यो जात्रा भक्तपुरका विभिन्न पुराना नेवार बस्ती, काठमाडौंको टोखा र काभ्रेको खरपुमासमेत मनाइन्छ ।

‘विश्व यात्रा’ शब्द अपभ्रंश भएर ‘बिस्का जात्रा’ हुँदै बिस्केट जात्रा भएको विश्वास गरिन्छ ।

ग्रह, नक्षत्र तथा राशीमा आधारित यो जात्रा, मीन राशीबाट मेष राशीमा प्रवेश गरेको समयान्तर अर्थात् चैत मसान्तदेखि सुरु भएर वैशाखको पहिलो हप्तासम्म मनाइन्छ ।

त्यसैगरी, बिस्केट जात्राकै अवसरमा मध्यपुर थिमीको लाय्कु, बालकुमारी, चपाचो, नगदेश र बोडेमा वैशाख २ गते ३२ खटसहितको अबिर जात्रा मनाइन्छ ।

मध्यपुर थिमी, बोडेमा जिब्रो छेड्ने जात्रा भव्यताका साथ मनाउने प्रचलन रहेको छ ।