२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


रारा पुगे प्रधानमन्त्री ओलीः दिए यस्ता आश्वासन, जनाए प्रतिबद्धता(भिडियो)


0
Shares

डोल्पा, चैत ३० । प्रधानमन्त्री केपी शर्मा ओलीले प्राकृतिक, सांस्कृतिक र जैविक विविधताले भरिएको डोल्पाकोे विकासका लागि सबैभन्दा पहिला राष्ट्रिय सडक सञ्जालमा जोडिनुपर्ने बताएका छन् ।

नयाँ वर्षसँगै शुरु हुन लागेको ‘कर्णाली रारा पर्यटन वर्ष’को उद्घाटनका लागि मुगु जाने क्रममा डोल्पा आइपुगेका प्रधानमन्त्री ओलीले डोल्पालाई चालु आवभित्रै सडक सञ्जालमा छिटोभन्दा छिटो जोड्नका लागि रु २० करोड उपलब्ध गराइने जानकारी दिए ।

यार्सागुम्बा, पाँचऔँलेलगायत बहुमूल्य जडीबुटीको स्वदेशमै स्थायी उत्पादन प्रशोधन र खेती गर्न सके डोल्पाले अझ आर्थिक फाइदा लिन सक्ने बताउँदै उनले हावापानी सुहाउँदो बेमौसमी तरकारी खेती, स्याउ, ओखर अङ्गुरलगायतको बहुआयमिक फाइदाजनक खेतीबाट यहाँको जीवनस्तर माथि उठाउन सकिनेमा जोड दिए ।

असुरक्षित ठाउँमा बसेका जनतालाई एकीकृत बस्तीका रुपमा विकास गरी सुरक्षित स्थानमा सार्ने योजनामा सरकार रहेको प्रधानमन्त्री ओलीको भनाइ थियो ।

प्रधानमन्त्री ओलीले दुर्गमका जनताले यातायातको अभावमा अकालमा मृत्युवरण गर्न नपरोस् भनेर कर्णालीका सबै स्थानीय तहमा हेलीप्याडको व्यवस्था गरिने र कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट सबै जिल्लामा नियमित हवाई सेवाको व्यवस्था गरिने बताए ।

वैशाख ५ गतेदेखि सरकारले सबै बालबालिकालाई भर्ना अभियानका रुपमा लिएकाले सबैलाई आआफ्ना बालबालिका विद्यालय भर्ना गर्न अनुरोध गर्दै उनले विपन्न परिवारका बालबालिकालाई काठमाडौँमा निःशुल्क पठनपाठनको व्यवस्था गरिने भएकाले विपन्न परिवारका बालबालिका पहिचान गरेर पठाइदिनसमेत आग्रह गर्नुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री धनबहादुर बुढाले जाजरकोट– डोल्पा निमार्णाधीन सडकलाई राष्ट्रिय गौरवको योजनाका रुपमा राखी बजेट विनियोजन, दक्षिण रुपैडिहा जमुना नाका हुँदै उत्तरी सीमा धो मोम्लिासम्मको सडक निर्माण, धोमा स्थायी स्वास्थ्यचौकीको पहल, २०७५ सालमा शे-फोक्सुण्डो पर्यटन महत्सवका लागि पहल, त्रिपुरासुन्दरी भगवती मन्दिर र राजारानी क्षेत्रको विकासलगायत योजना समावेश गरी विकास बजेट विनियोजन गरिदिन सरकारसँग माग गरे ।

त्रिपुरासुन्दरी नगरपालिकाअन्तर्गत पर्ने श्रीबाला त्रिपुरासुन्दरी भगवतीको मन्दिरमा दर्शन तथा पूजाआजा गर्न डोल्पा पुग्नुभएका प्रधानमन्त्री ओलीलाई डोल्पालीले स्वागत गरेका थिए ।

त्रिपुरासुन्दरी नगरपालिकाका प्रमुख ओमबहादुर बुढाको अध्यक्षतामा भएको कार्यक्रममा रक्षामन्त्री ईश्वर पोखरेल, पर्यटनमन्त्री रवीन्द्रप्रसाद अधिकारी, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल, पूर्वसभामुख सुवास नेम्वाङ, पूर्वमन्त्री जनार्दन शर्मालगायत उपस्थित थिए । रासस

भिडियो