
सुवर्ण श्रेष्ठ (इमेज)
हेटौंडा, मंसिर ४ । मकवानपुरको कैलाश गाउँपालिकामा एक १२ वर्षीया बालिका गर्भवती भएको पाइएको छ ।
११ वर्षमा विवाह भएकी बालिकाको पेटमा ८ महिनाको बच्चा भएको घटना सार्वजनिक भएसँगै यसप्रति प्रधानमन्त्री कार्यालयलेसमेत चासो देखाएको छ ।
बालिकाको थप स्वास्थ्य परीक्षणका लागि काठमाडौं लगिएको छ ।
सामान्यतयाः महिलाको प्रजनन् क्षमताको उमेर १५ वर्षदेखि ४९ वर्षसम्मको मानिन्छ ।
त्यसमा पनि स्वास्थ्यका दृष्टिकोणले हेर्दा १९ वर्षभन्दामुनिका महिलाले बच्चा जन्माउनु त्यति राम्रो हुँदैन ।
तर, मकवानपुरको कैलाश गाउँपालिका डुमरेकी १२ वर्षीया गंगामाया चेपाङको पेटमा ८ महिनाको बच्चा भएको कुरा सार्वजनिक भएको छ ।
कलिलै उमेरमा गर्भवती भएकी बालिकाको स्वास्थ्य जोखिमका विषयमा सर्वत्र चासो र चिन्ता देखिएको छ । अझ अचम्मको कुरा त बालिकाको विवाह आफूखुसी नै भएको थियो ।
कक्षा–४ मा पढ्दा–पढ्दै ११ वर्षको उमेरमा उनको गाउँकै किशोरसँग विवाह भएको स्वयं बालिकाको भनाइ छ ।
यति कलिलै उमेरमा बालिका गर्भवती भएको हुँदा उनको स्वास्थ्यमाथि पर्ने असरबारे चिन्ता र चासो बढ्दै गएको छ ।
प्रधानमन्त्री कार्यालयको निर्देशनमा उनलाई हेटौंडा अस्पतालमा ल्याइएको थियो ।
बालिकाको तत्कालको स्वास्थ्य अवस्था सामान्य देखिएपनि कलिलो उमेरमा आमा बन्न लागेकाले खतरा पनि उत्तिकै रहेको उपचारमा संलग्न डा. निशा राई बताउँछिन् ।
मकवानपुर, राक्सिराङ गाउँपालिका–३ स्थित माइतीको घरमा बस्दै आएकी गंगामायाका श्रीमान् भने घरको गाउँबाहिर दैनिक ज्यालादारीको काम गर्छन् ।
सानै उमेरमा गर्भवती बन्दा दीर्घकालीनरुपमै स्वास्थ्यमा चुनौती भएपनि यस्तो घटना पहिलोपटक भने नभएको डाक्टरहरुको भनाइ छ ।
कानुनी र स्वास्थ्यका दृष्टिलेसमेत प्रतिकूल यस्ता घटनालार्ई रोक्न सबैभन्दा पहिले उपयुक्त उमेरमा विवाह गर्न आवश्यक छ ।
प्रतिक्रिया दिनुहोस्