प्रथम राष्ट्रिय आर्थिक गणना सुरु • Image Khabar Image Khabar


प्रथम राष्ट्रिय आर्थिक गणना सुरु


Imagekhabar
१ बैशाख २०७५, शनिबार १६:२४

प्रथम राष्ट्रिय आर्थिक गणना सुरु

केन्द्रीय तथ्यांक विभागले आगामी जेठ ३१ गतेसम्म सन्चालन गर्ने सो गणनाका उद्देश्य केन्द्र, प्रदेश तथा स्थानीयतहसम्म योजना तर्जुमा र नीति निर्माण गर्नका लागि आधारभूत आर्थिक तथ्यांक उपलब्ध गराउन, मुलुकको राष्ट्रिय लेखा प्रणालीको सुदृढीकरण गर्न, सम्बन्धित क्षेत्रका उद्योगी, व्यवसायी, लगानीकर्ता र प्राज्ञिक अनुसन्धानकर्ता तथा अन्य तथ्यांक प्रयोगकर्तालाई क्रमशः व्यवसाय समृद्धिका लागि नीति तथा योजना तर्जुमा गर्न एवं अध्ययन–अनुसन्धानका लागि आवश्यक पर्ने आधारभूत तथ्यांक उपलब्ध गराउनु रहेको छ ।

आर्थिक गणनालाई सफलताका साथ सम्पन्न गर्नका लागि विभागले ७७ जिल्लामा गत चैत १ गतेदेखि ४ महिनाका लागि जिल्ला आर्थिक गणना कार्यालय स्थापना गरिसकेको छ ।

सो कार्यका लागि सुपरिवेक्षक तथा गणकलाई तालिम प्रदान गरी आ–आफ्नो कार्यक्षेत्रमा खटाइसकिएको विभागका महानिर्देशक सुमनराज अर्यालले जानकारी दिए ।

विभागबाट आर्थिक गणनाका विवरण संकलन गर्न प्रत्येक घरदैलो, व्यापारिक प्रतिष्ठान वा व्यवसायस्थलमा गणना कर्मचारी पुग्ने भएकाले त्यसमा सहयोग गर्न सम्बन्धित सबै पक्षसँग उनले आग्रह गरे ।

महानिर्देशक अर्यालले मुलुकमा आर्थिक तथ्यांक प्रणालीलाई मजबुत् तुल्याउनुपर्ने आजको आवश्यकता रहेको उल्लेख गर्दै सबै उद्योग, व्यवसाय, विभिन्न सेवाप्रदायकलगायतका संघ–संस्थाजस्ता प्रतिष्ठान (आर्थिक एकाइ) को तथ्यांक संकलन गर्ने बताए ।

राष्ट्रिय आर्थिक गणना नेपालको पहिलो तथा ऐतिहासिक बृहत् तथ्यंकीयकार्य भएकाले गणनाको स्मृतिमा विभागले आफ्नो परिसरमा ‘आर्थिक गणना स्तम्भ’समेत निर्माण गरेको छ ।

विभागद्वारा आयोजित एक कार्यक्रममा अर्थमन्त्री डा. युवराज खतिवडाले प्रथम राष्ट्रिय आर्थिक गणना २०७५ को शुभारम्भ तथा स्तम्भको अनावरण गरे ।

सो अवसरमा अर्थमन्त्री खतिवडाले आर्थिक नीति तर्जुमा तथा योजना निर्माणका लागि ‘राष्ट्रिय आर्थिक गणना २०७५’ कोसेढुंगा सावित हुने विश्वास व्यक्त गरे । रासस

प्रतिक्रिया दिनुहोस्