२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


विद्यार्थी भर्ना अभियान सन्चालन


0
Shares

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शनिबारदेखि देशव्यापीरुपमा विद्यालयभन्दाबाहिर रहेका बालबालिकालाई लक्षित गरी भर्ना अभियान सन्चालन गरिएको मन्त्रालयका सहसचिव वैकुण्ठ अर्यालले जानकारी दिए ।

उनले भर्ना अभियानकैक्रममा प्रधानमन्त्री केपी शर्मा ओली र शिक्षामन्त्री गिरिराजमणि पोखरेलले मुगुको विद्यालयमा एक/एकजना विद्यार्थीलाई भर्ना गरेको बताए ।

‘हामी सबैको इच्छा अनिवार्य निःशुल्क आधारभूत शिक्षा’ भन्ने मूल नारासहित यस वर्ष मन्त्रालयले पाठ्यपुस्तकसहित भर्ना अभियान सन्चालन गरेको छ ।

उनले शनिबारदेखि भर्ना अभियान सन्चालन भएपनि अभियानकैरुपमा भने आगामी वैशाख ५ गतेदेखि घरदैलोरुपमा सन्चालन गर्ने बताए ।

सहसचिव अर्यालले प्राथमिक तहको कक्षामा ५ देखि ९ वर्षसम्मका बालबालिकालाई भर्ना अभियान सन्चालन गरिएको बताए ।

‘अहिले हामी साना बालबालिकालाई विद्यालयमा भर्ना गर्ने अभियानमा केन्द्रित भएका छौं’–उनले भने–‘ती बालबालिकालाई भर्ना गरेपछि विद्यालय छाड्नेलाई भर्ना अभियान सन्चालन गर्नेछौं ।’

विद्यालय तहको शैक्षिक तथ्यांक २०७४ अनुसार प्राथमिक तहमा पाँचदेखि ९ वर्ष २.८ प्रतिशत र कक्षा १ देखि ८ सम्म पाँचदेखि १२ वर्ष उमेर समूहका ७.७ प्रतिशत विद्यार्थी विद्यालयभन्दाबाहिर रहेका छन् ।

प्राथमिक तहमा ९४ हजार ६४६ जना र आधारभूत तहमा तीन लाख १३ हजार २८९ जना विद्यार्थी विद्यालयभन्दाबाहिर रहेका छन् ।

सहसचिव अर्यालकाअनुसार दुई हप्तासम्म विद्यालयमा भर्ना अभियान र त्यसपछि छिटफुटरुपमा रहेकालाई वैशाख मसान्तसम्म भर्ना अभियान सन्चालन हुनेछ ।

सरकारले २०६१ सालदेखि भर्ना अभियान सन्चालन गरेको थियो । रासस