Logo ७ श्रावण २०८३, बिहिबार | Thu Jul 23 2026


कर्मचारीले कार्यथलोमा राजनीति गरेमा सह्य हुँदैनः मन्त्री लालबाबु पण्डित


0
Shares

काठमाडौं, बैशाख २ । सरकारले १५ दिनभित्र सबै तहमा आवश्यक कर्मचारीको व्यवस्था गर्ने बताएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले राष्ट्रसेवक निजामती कर्मचारीहरुलाई आफूले प्राथमिकता दिने भन्दै योग्यता, क्षमता अनुसार निर्धारण गरिएको पदमा जाने गरी १५ दिन भित्र आवेदन दिन पनि आह्वान गरेका छन् ।

काठमाडौंमा आइतबार भएको साक्षात्कार कार्यक्रममा मन्त्री पण्डितले तोकिएको कार्यक्षेत्रमा गएर काम गर्न कर्मचारीहरुलाई पुनः सचेत गराए ।

निजामती सेवा ऐनले गरेको व्यवस्था अनुसार सबै कर्मचारीले आफ्नो कार्य क्षेत्रमा गएर काम गर्नुपर्ने उनको भनाइ थियो ।

मन्त्री पण्डितले कर्मचारीहरुले कार्यथलोमा राजनीति गरे सहृय नहुने चेतावनी दिँदै कामबाहेक अरु गतिविधिमा लाग्न नदिने प्रतिवद्धता पनि व्यक्त गरे ।

कर्मचारीहरुलाई स्वेच्छिक अवकाश दिने काम तत्कालका लागि स्थगित गरिएको उनको भनाइ थियो ।

मन्त्री पण्डितले सरकारले राजनीतिक पूर्वाग्रहका आधारमा कर्मचारीहरुमाथि कुनै पनि खालको व्यवहार नगर्ने बताए ।

कार्यक्रममा नेपाली काँग्रेसका नेता डाक्टर नारायण खड्काले विशिष्ट व्यक्तिहरुले अवैधानिक तरिकाले लिएका सुरक्षाकर्मी फिर्ता गरेर सरकारले राम्रो काम गरे पनि बहुमतको आडमा दम्भ देखाउन थालेको जिकिर गरे ।

सरकारले दुईतिहाइको नाममा अलोकतान्त्रिक गतिविधि गर्न खोजे परिणाम राम्रो नहुने चेतावनी दिए ।

नेता डाक्टर खड्काले मुलुकको समृद्विका लागि काँग्रेस सदैव जनताको साथमा रहने पनि बताए ।