
नयाँ वसपार्कको नाममा परिचित यो बसपार्कको भौतिक संरचना अहिले भत्कन थालेको छ । यात्रु बस्ने प्रतिक्षालयमा जथाभावी काउण्टर संचालन गर्दा यात्रुले उभिएर नै यातायातका साधन पर्खनुपर्ने बाध्यता छ ।
झापाको अर्जुनधारा नगरपालिका र बिर्तामोड नगरपालिकाको स्वामित्वमा रहको नयाँ बसपार्क अहिले अस्तव्यस्त छ । बसपार्कको भू-भाग अर्जुनधारा–११ र बिर्तामोड–५ मा पर्छ ।
सडक भत्किएर खाल्डैखाल्डा छन्, त्यसमाथि पानी जमेर बसपार्कको अवस्था घिनलाग्दो बन्दै गएको छ । बसपार्कभित्र गाडी नै प्रवेश गर्दैनन् । गाडी चढ्नलाई बसपार्क क्षेत्रकै बासिन्दा रिक्सा चढेर जानुपर्छ ।
बसपार्कभित्रका यात्रु प्रतिक्षालयमा जथाभावी टिकट काउण्टरहरु छन् । काउण्टर राख्ने भवनमा भने पसल र कफी सेन्टर खोलिएको छ । जसको कारण यात्रुले उभिएरनै बस कुर्नुपर्ने हुन्छ ।
यातायात संचालकहरु बिर्तामोडका विभिन्न सडक किनारमा दिनभर गाडी थल्क्याएर राख्छन्, बसपार्क भने रित्तै हुने गरेको छ । पूर्वपश्चिम राजमार्गमा चल्ने अधिकांश यात्रुवाहक सवारी साधन बसपार्कभित्र प्रवेश नै गर्दैनन् ।
बसपार्क क्षेत्रमा कयौँ होटलहरु सञ्चालित छन् । अधिकांश होटलमा खुलेआम यौन व्यवसाय सञ्चालन हुने गरेको छ । यौनकार्यमा लिप्त जोडीलाई प्रहरीले दिनहुँजसो पक्राउ गर्ने होटल व्यावसायीहरु बताउँछन् ।
बसपार्क सञ्चालनमा आएको वर्षौं बिते पनि बसपार्क व्यवस्थापन समिति समेत गठन हुन सकेको छैन । बसपार्कको आम्दानी बिर्तामोड नगरपालिका र अर्जुनधारा नगरपालिकाले ६०/४० को अनुपातमा लिने सम्झौता छ ।
तर, दुबै नगरपालिकाले बसपार्कको सुधारमा भने चासो देखाएका छैनन् । तर बिर्तामोड नगरपालिका ५ का वडाध्यक्ष राजेन्द्र लिङ्देन सुधारको काम भईरहेको बताउँछन् ।
स्थानीय सुदर्शन गिरीले आफ्ना दिवंगत पिता टेकबहादुर गिरीको स्मृतिमा उपलब्ध गराएको २ बिघा ८ कठ्ठा जग्गामा बसपार्क सञ्चालन हुँदै आएको छ ।
मेचि र कोशिका पहाडी जिल्ला, काठमाडौंसहित तराईका जिल्लाका लागि बस छुट्नुपर्ने यो बसपार्क ७५ वटा सवारीसाधन पार्किङ क्षमता हो ।
यो वष पार्कको व्यवस्थापनमा स्थानीय तहले चासो दिएमा दैनिक ओहोर दोहोर गर्ने कयौ यात्रुलाई राहत मिल्ने थियो ।
प्रतिक्रिया दिनुहोस्