
मुग्लिननजिकको सो क्षेत्रमा यसअघि भित्तो काट्ने वा ‘क्यान्टिलिभर’ राख्ने भन्ने विषयमा लामो समय बहस भएको थियो ।
काम सम्पन्न गर्नुपर्ने समय नजिकिँदै गर्दा ठेकेदार कम्पनी रड एंकरिङ गर्ने कुरामा सहमत भएपछि काम सुरु भएको हो ।
नारायणगढ–मुग्लिन सडक आयोजनाका इन्जिनियर शिव खनालकाअनुसार मुग्लिनबाट १.५ किलोमिटर नारायणगढतर्फ २ नम्बर र ३ नम्बर पुलको बीचमा ९ ठाउँमा गरी १२३ मिटर सडक साँघुरो रहेको छ ।
ती ठाउँमा सातदेखि ८ मिटरमात्रै सडक चौडा छ । साँघुरो सडक भएको ठाउँमा ‘सेफ्टी बेल्ट’ बाँधेर सडकमुनि भीरको चट्टानमा ड्रिल गरेर रड घुसाउन थालिएकोे छ ।
२५ एमएम र ३२ एमएम मोटाइका रड ड्रिल गरेर एकदेखि दुई मिटरभित्र छिराएपछि सोही रडमा थप रड बाँधेर वाल उठाइँदैछ ।
यसरी उठाउँदा एकदेखि १.५ मिटरसम्म सडक फराकिलो बनाउन सकिने उनले बताए ।
फराकिलोको आधारमा पाँचदेखि ८ मिटर तलबाट वाल उठाइँदैछ । ३०० मिटर लामो सडकका ठाउँठाउँमा गरी १२३ मिटर सडक साँघुरोे छ । २० मिटर सडकमा ड्रिल गर्ने काम सम्पन्न भइसकेको छ भने अन्य ठाउँमा ड्रिल हुँदैछ ।
सो सडकको नारायणगढबाट १६ किलोमिटरसम्म ११ मिटर चौडा र त्यसपछि मुग्लिनसम्म ९ मिटर चौडा सडक बनाइँदैछ ।
३३.२ किलोमिटर लामो उक्त सडकखन्डको हालसम्म ३० किलोमिटर सडक कालोपत्रे भएको र अन्य क्षेत्रको भित्तो काट्ने काम पनि सम्पन्न भएको छ ।
हालसम्म समग्रमा सडकको ९० प्रतिशत काम सम्पन्न भएको इन्जिनियर खनालले बताए ।
उनकाअनुसार ड्रिल गरेर फराकिलो बनाइँदै गरेको क्षेत्रबाहेक अन्यत्र वैशाख १५ सम्ममा कालोपत्रे गरिसक्ने लक्ष्य राखिएको छ ।
सो सडकको नारायणगढबाट मुग्लिनतर्फको पहिलो खन्ड १० मे २०१८, दोस्रो खन्ड २० मे २०१८ र तेस्रो खन्ड ३० मे २०१८ सम्म काम सक्नुपर्नेछ । हालसम्म पहिलो खन्डको ८८ प्रतिशत, दोस्रो खन्डको ९६ प्रतिशत र तेस्रो खन्डको ८१ प्रतिशत सम्पन्न भइसकेको छ ।
सन् २०१५ को अप्रिलमा २४ महिनामा सक्नेगरी सो सडक ठेक्का दिइएको थियो । लगत्तै गएको भूकम्प, नाकाबन्दी र दुई वर्षसम्म वर्षात् बढी भएका कारण समय थप गरिँदै आएको थियो । रासस
प्रतिक्रिया दिनुहोस्