‘सिन्डिकेट’लाई जरैबाट उखेलेर फाल्छौं’, व्यवसायी के भन्छन् ? (भिडियो) • Image Khabar Image Khabar


‘सिन्डिकेट’लाई जरैबाट उखेलेर फाल्छौं’, व्यवसायी के भन्छन् ? (भिडियो)


Imagekhabar
७ बैशाख २०७५, शुक्रबार १७:४५

‘सिन्डिकेट’लाई जरैबाट उखेलेर फाल्छौं’, व्यवसायी के भन्छन् ? (भिडियो)

लामो समयदेखि सार्वजनिक यातायातमा सिन्डिकेट जमाएर बसेका व्यवसायीहरु सरकारी निर्णयको विरोधमा चर्को आवाज उठाउँदै दबाब दिने रणनीति बनाइरहेका छन् ।

सरकारले कम्पनी रजिष्टारको कार्यालयमा दर्ता भएका सवारी–साधनको पञ्जीकरण गरेरमात्रै रुट इजाजत दिने व्यवस्था गरेपछि लामो समयदेखि सिन्डिकेटका भरमा यातायात सन्चालन गर्दै आएका व्यवसायीहरु आत्तिएका छन् ।

उनीहरुले सरकारी निर्णय सच्याउन माग गर्दै अनिश्चितकालीन हड्तालसम्मका आन्दोलनका कार्यक्रमसमेत घोषणा गरेका छन् ।

सरकारले पनि व्यवसायीको दर्ता खारेजीसँगै निलम्बन गर्नेसम्मका रणनीति बनाउन थालेको छ ।

यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराईले व्यवसायीहरु हड्तालमा उत्रिए दर्ता खारेज गरेर अत्यावश्यक सेवा ऐनअनुसार कडा कारबाही गर्ने चेतावनी दिए ।

तर, यातायात व्यवसायीहरुले भने सरकारले साना व्यवसायीलाई तहस–नहस पार्ने र ठूला पुँजीपति र विदेशी व्यवसायीलाई भित्र्याउन खोजेको आरोप लगाएका छन् ।

उनीहरु सरकारले गरेको संस्था खारेज गर्ने निर्णय र कम्पनी रजिष्टारको कार्यालयमा दर्ता गरेरमात्र यातायात सन्चालन गर्नुपर्ने गरी गरेको निर्णय व्यावहारिक नभएको बताए ।

संयुक्त आन्दोलन मूल समितिका संयोजक योगेन्द्रनाथ कर्माचार्यले सरकारले एकपक्षीय ढंगले ल्याएको कार्यविधि नसच्याएसम्म आन्दोलन जारी राख्ने बताए ।

यातायात व्यवसायीहरुले जिल्ला प्रशासन कार्यालयमा एनजीओकारुपमा संस्था दर्ता गर्दै व्यवसाय सन्चालन गर्दै आएका छन् ।

सार्वजनिक यातायातमा व्यवसायीको १० खर्ब रुपैयाँभन्दा बढी लगानी छ । तर, यातायात व्यवस्था विभागले अहिलेसम्म दर्ता भएका यातायात कम्पनीको लगानी १ अर्ब ८४ करोड ३३ लाख रुपैयाँमात्र भएको जनाएको छ ।

सार्वजनिक सवारी–साधन कम्पनीकारुपमा दर्ता भएर सन्चालन भए यस क्षेत्रबाट वार्षिक ४ अर्ब रुपैयाँभन्दा बढी राजश्व सरकारले उठाउने आँकलन गरिएको छ ।

यातायात व्यवसाय सहकारी वा फर्मकारुपमा दर्ता भइ सन्चालन भएपछि हुने प्रतिस्पर्धाका कारण यात्रीलाई लाभ हुनेछ भने कम्पनी दर्तामा गएसँगै यातायात क्षेत्रमा खुला प्रतिस्पर्धाको वातावरण बन्छ ।

यातायातको क्षेत्रमा भएको सिन्डिकेट सरकारले तोड्न सकेमा नेपालमा सार्वजनिक यातायात सहज हुनेमात्र होइन, नागरिकले गुणस्तरीय सेवासमेत पाउनेछन् ।

भिडियो हेर्नुहोस्

प्रतिक्रिया दिनुहोस्