१८ असार २०८२, बुधबार | Wed Jul 2 2025


सिकलसेल एनिमियाः थारु समुदायमामात्रै देखिएको रोग, यी हुन् लक्षण (भिडियो)


0
Shares

थारु समुदायमामात्र देखिएको र कहिल्यै निको नहुने यस समस्याबाट तीन हजार व्यक्ति प्रभावित रहेको अनुमान गरिएको छ ।

बर्दिया जिल्ला घर भएका ३२ वर्षीय मोहनलाल चौधरीमा सानै उमेरदेखि शरीर दुख्ने, हाडजोर्नी दुख्ने र बिस्तारै शरीर पहेंलो हुँदै जाने समस्या देखिएको थियो । मोहनलालले धेरै अस्पताल चहारे ।

एक महिनासम्म वीर अस्पतालमा रहँदा पनि मोहनलालको कुनै चिकित्सकले रोग पत्ता लगाउन सकेनन् ।

केही सीप नलागेपछि उनी नेपालगन्जस्थित भेरी अञ्चल अस्पताल गए । त्यसपछि उनलाई चिकित्सकले नामै नसुनेको सिकलसेल एनिमिया लागेको बताए । नामै नसुनेको रोग लागेपछि उनी निकै डराए ।

परिवार आफैंले नै पालिरहेका मोहनलालका दुई छोरासमेत छन् । १६ वर्षमै विवाह गरेका मोहनले ५ कक्षासम्ममात्र पढेका छन् ।

सिकलसेल एनिमियाको रोग लागेका उनलाई उपचार गराउने पैसासमेत छैन । उनलाई महिनाको एकपटक अस्पताल जानुपर्छ ।

मोहनलालकी श्रीमती सुमित्रा चौधरी श्रीमान् रोगी भएपछि बाँच्न नै समस्या भएको सुनाउँछिन् । ज्याला–मजदुरी गर्दैै परिवार पालेका श्रीमान्ले काम गर्न नसक्ने भएपछि उनलाई निकै समस्या भएको गुनासो गर्छिन् ।

मोहनलालजस्तै १४ वर्षीय नवीन चौधरीलाई पनि सिकलसेल एनिमिया भएको छ । दिनभरि सुतिरहने नवीनको शरीर पहेंलो हुँदै गएपछि उनको परिवारले जन्डिस भएको आशंकामा जन्डिस फुकाउन भन्दै धेरैपटक धामी–झाँक्रीकोमा लगे । तर, उनको शरीर पहेंलो हुन छाडेन । दुखाइ पनि कम भएन ।

त्यसपछि भने नवीनको परिवारले उनलाई भेरी अञ्चल अस्पताल लगे । त्यहाँ पुर्‍याएपछिमात्र उनको रोग पत्ता लाग्यो ।

थारु समुदायमामात्र देखिएको यस रोगबाट हाल नेपालमा करिब तीन हजार पीडित बनेको अनुमान छ ।

भेरी अञ्चल अस्पतालमा आउने ५३३ जनामा सिकलसेल एनिमियाको समस्या देखिएको अस्पतालले जनाएको छ । विशेषगरी यो रोग बाँके, बर्दिया, कैलाली र दाङ जिल्लामा देखिएको छ ।

मानिसको शरीरमा रातो रक्तकोष लचकदार र गोलाकार हुने गर्छ । तर, सिकलसेल एनिमिया भएको अवस्थामा भने उक्त रक्तकोष लचकदार नभइ आधा चन्द्रमा आकारको बन्दै जान्छ ।

मलेरिया भएको स्थानमा सिकलसेल एनिमियाको समस्या देखिएको चिकित्सक बताउँछन् । त्यसैले सिकलसेल एनिमिया भएको व्यक्तिलाई मलेरिया भने नलाग्ने उनीहरुको भनाइ छ ।

सिकलसेल एनिमियाले असर गर्ने ‘जीन’ थारु समुदायमामात्र देखिएको चिकित्सक बताउँछन् । यो वंशाणुगत रोग भएकाले आमा–बाबुलाई भयो भने छोरा–छोरीमा सर्ने सम्भावना उच्च हुन्छ ।

त्यसैले रक्त परीक्षण गरेरमात्र विवाह गर्नु उत्तम हुन्छ भने सरकारले पनि सिकलसेल एनिमिया रोगबारे जनचेतना जगाउनु जरुरी छ ।

भिडियो हेर्नुहोस्