सरकार सर्वसत्तावादतर्फ जाँदैछ : पौडेल • Image Khabar Image Khabar


सरकार सर्वसत्तावादतर्फ जाँदैछ : पौडेल


Imagekhabar
८ बैशाख २०७५, शनिबार १८:२४

सरकार सर्वसत्तावादतर्फ जाँदैछ : पौडेल

नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघको राष्ट्रिय भेला तथा विधान अधिवेशनको शनिबार रत्ननगरमा उद्घाटन गर्दै उनले संवैधानिक निकायमाथि सरकारले गरेको हस्तक्षेपबाट अहिलेको सरकारले सर्वसत्तावाद लाद्न खोजेको प्रस्ट भएको बताए ।

उनले भने–‘दुई तिहाइको दम्भ देखाउँदै संवैधानिक निकायलाई त्रसित पार्न खोजिएको छ, यसबाट प्रस्ट हुन्छ कि अब सर्वसत्तावादतर्फ सरकार जाँदैछ ।’

‘नेपालमा अहिले लोकतन्त्र होइन, नेतातन्त्र चल्न खोजेको छ’–उनले भने ।

लामो संघर्षपछि मुलुकमा संघीयता आएको भन्दै उनले अहिले सरकार संघीयताको विपरीत जान खोजेको आरोप लगाए ।

सबै शक्ति विकेन्द्रित गर्नुपर्ने समयमा प्रधानमन्त्रीले शक्तिकेन्द्रित गर्नुले संघीयताको विरुद्ध जान खोजेको देखिएको उनले बताए ।

निर्वाचनको समयमा जनतालाई देखाएका सपनाअनुसार काम गर्न उनले सरकारलाई सुझाव दिए ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्रको पार्टी एकतातर्फ संकेत गर्दै वरिष्ठ नेता पौडेलले भने–‘वाम एकतामा अहिले दरार आउन खोजेको छ, हाम्रो शुभकामना भनेको एकताका लागि हो ।’

एक फरक प्रसंगमा उनले नेपाली कांग्रेसभित्र न्यायिक, निष्पक्ष र पारदर्शी मूल्यांकन नेतृत्वले गर्न नसकेको बताए । यी कुरामा ध्यान दिनसकेको खन्डमा पार्टीभित्र कुनैपनि विवाद नआउने उनको भनाइ थियो ।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउद, धनराज गुरुङ, कमला पन्त र बद्री पाण्डेले पार्टी एकढिक्का भएर अघि बढ्नुको विकल्प नरहेको बताएका थिए ।

निर्वाचनमा व्यहोरेको हार आत्मसात् गर्दै गुटको अन्त्य गरी अघि बढ्नुपर्ने उनीहरुको भनाइ थियो ।

आइतबारसम्म चल्ने राष्ट्रिय सम्मेलन तथा विधान अधिवेशनले संघलाई संघीय ढाँचामा कसरी प्रस्तुत् गर्ने भन्ने विषयमा छलफल र निर्णय गर्ने संघका केन्द्रीय अध्यक्ष जनक रावलले बताए । रासस

प्रतिक्रिया दिनुहोस्