२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


सम्पदा पुनःनिर्माणमा पनि ‘सिन्डिकेट’ हावी : मेयर शाक्य


0
Shares

शनिबार काठमाडौंमा भएको एक कार्यक्रममा मन्त्री अधिकारीले सम्पदास्थललाई जोड्ने पदमार्गले यस क्षेत्रका सम्पदाहरुको पुनःनिर्माणमा सहयोग पुग्ने बताए ।

सम्पदास्थललाई जोड्ने पदमार्ग आन्तरिक र बाह्य पर्यटक दुवैका लागि लोकप्रिय हुने उनको भनाइ छ ।

सम्पदास्थलहरु जोड्ने बाटो एकै प्रकारको बनाउनुपर्ने भन्दै मन्त्री अधिकारीले त्यस्ता क्षेत्रमा सवारी–साधनलाई निषेध गरिनुपर्ने बताए ।

सम्पदास्थल जोड्ने मार्गको विकासका लागि सरकारले सहयोग गर्ने उनको भनाइ थियो ।

मन्त्री अधिकारीले २०७२ वैशाख १२ को शक्तिशाली भूकम्पले क्षति पुर्‍याएका सम्पदाहरुको पुनःनिर्माणमा तीनै तहका सरकार एकजुट भएर लाग्नुपर्ने बताए ।

कार्यक्रममा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले सरोकारवाला निकायहरुबीच समन्वयको अभावले गर्दा काठमाडौंलाई चौबीसै घन्टा खुला राख्न नसकेको बताए ।

उनले सम्पदा पुनःनिर्माणमा पनि ‘सिन्डिकेट’ हावी भएको भन्दै यसलाई तोड्न आवश्यक रहेको बताए ।

शनिबार वसन्तपुरबाट सुरु भएको पदयात्रा प्रस्तावित पदमार्ग विश्व सम्पदास्थल हनुमानढोका, मरुगणेश, काष्ठमन्डप, मरुहिंटी, सन्तानेश्वर महादेव, तेलमील, दमाइँटोल, पाछेँगल्ली, भुरुङखेल, डल्लु–चौतारा, भुइँखेल हुँदै अर्को विश्व सम्पदास्थल स्वयम्भूसम्म पुगेर समापन भएको थियो ।