
काठमाडौं, वैशाख ९ । भूकम्पका कारण क्षति पुगेका ९ हजार विद्यालयमध्ये हालसम्म ३ हजार ६१३ विद्यालयको पुनर्निर्माण सम्पन भएको शिक्षा मन्त्रालयले जनाएको छ ।
शिक्षा पत्रकार सञ्जालले काठमाडौंमा गरेको कार्यक्रममा हालसम्म विद्यालय व्यवस्थापन समितिबाट २ हजार ५६१, निर्माण व्यवसायी मार्फत २ र गैरसरकारी संस्थाबाट १ हजार ५० विद्यालय पुनर्निर्माण भएको जानकारी दिईयो ।
शिक्षा मन्त्रालयका प्रवक्ता वैकुण्ठ अर्यालले पर्याप्त प्राविधिक जनशक्ति र वित्तीय व्यवस्थापनको अभावका कारण पुनर्निर्माणले सोचेअनुरुप गति लिन नसकेको बताए । उनले भारत सरकारले बनाउने भनेको ७० ओटा विद्यालय हालसम्म पुनर्निर्माण नै सुरु नभएको जानकारी दिए ।
प्रवक्ता अर्यालले अब विद्यालय स्थानीय सरकारले पुनर्निर्माण गर्ने कि अरु कुनै संयन्त्र खोज्ने भन्ने अन्यौलसमेत रहेको भन्दै विद्यालय पुनर्निर्माणका लागि दुई बर्ष थप गरिएको बताए ।
केन्द्रीय आयोजना इकाई प्रमुख ईमनारायण श्रेष्ठले विद्यालय पुनर्निर्माणका लागि शिक्षा मन्त्रालयले १२ अर्ब, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले ८ अर्ब रकम विनियोजन गरिएको जानकारी दिए ।
विद्यालय पुनर्निर्माण गर्न अझै ३० अर्ब रकम आवश्यक पर्ने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्