२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


पार्टी एकताप्रति असन्तुष्ट गोपाल किरातीको संयोजकत्वमा राष्ट्रिय भेला आयोजक समिति गठन


0
Shares

काठमाडौं, वैशाख १० । नेकपा एमालेसँग पार्टी एकता गर्ने तयारीसँगै असन्तुष्ट रहेका माओवादी केन्द्रका नेता गोपाल किरातीको संयोजकत्वमा राष्ट्रिय भेला आयोजक समिति गठन गरिएको छ ।

माओवादी केन्द्रका पुनर्गठन पक्षधरहरुको महाधिवेशन आयोजक समितिको बैठकले राष्ट्रिय भेला आयोजक समिति गठन गरेको हो ।

पार्टीको महाधिवेशन आयोजक सदस्यहरु स्वतः सदस्य रहनेगरी किरातीको संयोजकत्वमा राष्टिय भेला आयोजक समिति गठन गरिएको हो । संयोजक किरातीका अनुसार राष्ट्रिय भेला आयोजक समितिको प्रदेश संयोजक पनि तोकिएको छ । जसअनुसार प्रदेश १ मा विमल निरौला, प्रदेश २ र ३ नजिबुल्ला अन्सारी, प्रदेश ४ मा मोहन गुरुङ तथा ५, ६ र ७ प्रदेशमा आलोक रायमाझीलाई संयोजक तोकिएको छ ।

केन्द्रीकृत संगठन र विकेन्द्रीत स्वायत्तता स्थापनाको अवधारणामा आदिवासी जनजाति मोर्चा संयोजनको जिम्मा दिनेश राजवंशीलाई दिइएको संयोजक किरातीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

पुष्पलाल श्रेष्ठ स्मृति दिवसको अवसरमा ०७५ साउन ७ गते पार्टीको प्रथम राष्ट्रिय भेला आयोजना गर्ने निर्णय भएको पनि उनले जनाए ।

राष्ट्रिय भेलामा प्रस्तुत गर्नका लागि किरातीद्वारा तयार पारिएको वैचारिक (राजनीतिक तथा संगठनात्मक प्रतिवेदनलाई अध्ययन, छलफल र कतिपय विषय कार्यान्वयन गर्दै अघि बढाउनेगरी पारित गरिएको पनि विज्ञप्तिमा जनाइएको छ ।

प्रतिवेदनमा मार्क्सवाद(लेनिनवाद(माओवादको रक्षा, प्रयोग र विकासमा जोड दिंदै प्रस्तावित राष्ट्रिय समाजवादी क्रान्तिको कार्यदिशामा अघि बढ्ने, नेपाली जनतालाई ऋण मुक्त गर्न सम्पूर्ण वैदेशिक ऋण खारेज गर्ने, एकाधिकार चरित्रको जुनसुकै परियोजना राष्ट्रियकरण गर्ने र जनतामा निहित सार्भभौमसत्ताको अभ्यास गर्न सबै खाले नीजि संस्था र सम्पत्तिलाई राज्यको स्थानीय तहमा सशक्त समुदायकरण गर्ने उल्लेख छ । त्यस्तै भ्रष्टाचारी र बलात्कारीलाई मृत्युदण्डको व्यवस्था गर्ने, छिमेकीसँगको सम्बन्ध व्यवस्थित गर्न प्रत्येक स्थानीय तहमा एक भन्सार नाका खुलागरी बाँकी स्थानमा नेपाल(भारत सीमानास्थित अग्लो पर्खाल वा काँडेतार लगाउने पनि प्रतिवेदनमा समेटिएको छ ।

भेला आयोजक समितिले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेताहरुमाथि लगाईएका मुद्दा खारेज गरी आधिकारिक वार्तामा बोलाउन सरकारसँग आग्रह गरेको छ । त्यस्तै प्रचण्ड समूहको दक्षिणपन्थी आत्मसमर्पणवादको भण्डाफोर गर्दै त्यस समूहमा रहेका इमान्दार क्रान्तिकारीहरुलाई शहीदको रगतले स्थापित माओवादको धारामा दृढतापूवर्क उभिन आग्रह गरिएको छ ।