पार्टी एकताका लागि सबै विषयमा टुंगो लागिसकेको छ : गृहमन्त्री थापा • Image Khabar Image Khabar


पार्टी एकताका लागि सबै विषयमा टुंगो लागिसकेको छ : गृहमन्त्री थापा


Imagekhabar
१० बैशाख २०७५, सोमबार ११:४७

पार्टी एकताका लागि सबै विषयमा टुंगो लागिसकेको छ : गृहमन्त्री थापा

चितवन, वैशाख १० । गृहमन्त्री रामबहादुर थापाले एमाले र माओवादी केन्द्रबीच सबै विषयमा टुंगो लागिसकेको भन्दै छिट्टै एकता हुने दाबी गरेका छन् ।

सोमबार भरतपुर विमानस्थलमा पत्रकारसँग कुरागर्दै उनले प्राविधिक कारणले ढिलाई भए पनि मिति नतोकेकै समयमा एकता हुने बताए । ‘पार्टी एकताका लागि आवश्यक पुर्वाधार तयार भईसकेको छ,’ माओवादी केन्द्रका नेतासमेत रहेका गृहमन्त्री थापाले भने, ‘एकताका लागि राजनीतिक, वैचारिक र संगठनात्मक आधारहरु तय भईसकेको छ ।’

जनयुद्धको भूमिकालाई संरक्षण गर्ने र संगठनात्मक विषयमा नेतृत्वको मोडालिटी कस्तो हुने भन्ने विषय पनि टुंगिसकेको उनको दावी छ । दुबै पार्टीका सबै नेतालाई संगठनात्मक मोडेलका आधारमा व्यवस्थापन गरिने उनले बताए ।

केन्द्रमा सहअध्यक्षको मोडेल र जिल्ला तहमा दुई पदीय नेतृत्वको मोडेल तयार गरेर सिफारिस गरेको मन्त्री थापाले जानकारी दिए ।

यसैबीच उनले एक अर्को प्रसंगमा प्रहरी प्रशासन संघीय संरचना अनुसार संचालन भइरहेको बताए ।

गृहमन्त्री थापाले संघीय प्रणाली कार्यान्वयनका लागि गृह मन्त्रालयले कार्यकारी आदेश जारी गरी सकेको बताए । उनले देशमा संघीय प्रहरी र प्रदेश प्रहरीको संरचना हुने भन्दै त्यसको समन्वयको लागि कार्यकारी आदेश जारी गरेको जानकारी दिए ।

आदेशले जिल्ला, प्रदेश र संघबीच समन्वयकारी भूमिका खेल्ने उनको भनाइ छ । संघीयता अनुसार नै प्रहरी संरचना बन्दै गईरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्