१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


सगरमाथाको संरक्षणमा लाग्न प्रधानमन्त्रीको आह्वान


0
Shares

काठमाडौं, वैशाख १० । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च शिखर सगरमाथाको संरक्षणमा लाग्न आह्वान गरेका छन् ।

पासाङ ल्हामु प्रतिष्ठानको रजत दिवसका अवसरमा सोमबार काठमाडौंमा गरिएको कार्यक्रममा प्रधानमन्त्री ओलीले सर्वोच्च शिखर सगरमाथा सफाई अभियानमा जुट्न आह्वान गरेका हुन् । उनले सगरमाथा पवित्र स्थल भएको भन्दै फोहोर नगर्नका लागि चेतना फैलाउन आवश्यक रहेकोमा जोड दिए ।

नेपालको हिमाली क्षेत्र विश्वको उत्कृष्ट गन्तव्य भएकाले यसको संरक्षण गर्नु सबैको दायित्व भएको प्रधानमन्त्री ओलीको भनाइ थियो ।

उनले पासाङ ल्हामु शेर्पा साहसिक महिला भएको भन्दै उनको योगदानबाट पाठ सिक्नुपर्ने बताए ।

कार्यक्रमका सहभागीहरुले हिमाल आरोहणमा स्वर्गीय पासाङ ल्हामु शेर्पाको योगदानको चर्चा गरेका थिए । पासाङ ल्हामु शेर्पाको २०५० साल वैशाख १० गते सगरमाथाको सफल आरोहणपछि फर्कने क्रममा निधन भएको थियो ।