थारु समुदायलाई मात्र किन लाग्छ सिकलसेल रोग ! अनुसन्धान थालियो (भिडियो) • Image Khabar Image Khabar


थारु समुदायलाई मात्र किन लाग्छ सिकलसेल रोग ! अनुसन्धान थालियो (भिडियो)


Imagekhabar
१० बैशाख २०७५, सोमबार १३:२७

थारु समुदायलाई मात्र किन लाग्छ सिकलसेल रोग ! अनुसन्धान थालियो (भिडियो)

प्रज्ञा तिमल्सिना/
काठमाडौं, वैशाख १० । थारु समुदायका व्यक्तिमा सिकलसेल एनिमिया रोगको समस्या बढ्दै गएपछि सरकारले प्रभावित क्षेत्रमा रगत परीक्षण सुरु गरेको छ ।

बर्दियाको बारबर्दिया नगरपालिकाका २० हजार राना थारु समुदायमा रगत परीक्षण सुरु गरिएको हो ।

सन् १९५६ मा नवलपरासीमा पहिलो पटक देखिएको सिकलसेल एनिमिया रोग हाल थारु समुदायमा बढी देखिएको छ । विशेष गरी यो रोग राना थारुमा बढी देखिएको सरकारी तथ्यांक छ ।

हाल स्वास्थ्य मन्त्रालयको डेढ करोड रुपैयाँको सहयोगमा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले सिकलसेल एनिमियाबाट प्रभावित व्यक्तिका बारेमा अनुसन्धान सुरु गरेको छ । जसमा बर्दियाको वारबर्दिया नगरपालिकाका बस्दै आएका २० हजार राना थारु समुदाय समेटिएका छन् ।

बारबर्दिया नगरपालिकामा १ वर्षदेखि २९ वर्ष उमेर समूहका व्यक्तिको रगत परीक्षण भइरहेको छ । यो जन्मजात रोग भएकाले १ वर्ष उमेर समूहकै बालबालिकादेखि अनुसन्धान सुरु गरिएको अनुन्धान परिषद्ले जनाएको छ ।

संकलन गरिएको रगतलाई वीर अस्पतालमा ल्याएर परीक्षण गरिने छ । रगत परीक्षणको काम आगामी असारसम्म सक्ने लक्ष्य राखिएको छ ।

सिकलसेल एनिमियाका बिरामीको संख्या र उपचारको विधि पत्ता लगाउने उद्देश्यले अनुसन्धान शुरु गरिएको हो । वंशाणुगत रोगका कारण हैरान भएका थारु समुदायका व्यक्ति सरकारी अनुसन्धानप्रति निकै उत्साहित देखिएका छन् । अनुसन्धानको नतिजा सार्वजनिक भएपछि जनचेतनामूलक कार्यक्रमसमेत सञ्चालन गर्ने तयारी गरिएको छ ।

शरीरमा रातो रक्त कोषको कमी हुने यो रोगले हाड जोर्नी दुख्ने, शरीर पहेँलो हुँदै जाने गर्दछ । बिरामीलाई पटकपटक रगत दिएर बचाउनुपर्ने बाध्यता छ । यसको पूर्ण उपचार विधि अहिलेसम्म नभएको चिकित्सकहरु बताउँछन् ।

यो रोगका विरामीलाई सरकारले १ लाख रुपैयाँसम्मको सहयोग गर्दै आएको छ । वंशाणुगत समस्याका कारण बढ्दै गएको यो रोग नियन्त्रणको विधि पत्ता लगाउनुका साथै तत्कालका लागि जनचेना फैलाउनु आवश्यक छ ।

भिडियो रिपोर्ट हेर्नुहोस्

प्रतिक्रिया दिनुहोस्