
काठमाडौं, मंसिर २ । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा थ्रीस्टार क्लबको शतप्रतिशत नतिजा कायमै रहेको छ । थ्रीस्टारले लगातार दोस्रो जित हासिल गर्ने क्रममा ब्रिगेड ब्वाइज क्लबलाई ५–१ को फराकिलो अन्तरले हरायो ।
थ्रीस्टारका लागि रञ्जित धिमाल, सुनील बल, रञ्जन विष्ट, निराजन खड्का र कप्तान विक्रम लामाले एक–एक गोल गरे । ब्रिगेडका रजत तिवारीले सान्त्वना गोल फर्काए ।
यसअघि पहिलो खेलमा फ्रेन्ड्सलाई हराएको थ्रीस्टार गोलअन्तरमा मनाङ मर्स्याङ्दी क्लबलाई पछाडि पार्दै लिग तालिकाको शीर्ष स्थानमा पुगेको छ ।
दोस्रो चरणको खेल चलिरहँदा लिगमा थ्रीस्टार र मनाङले मात्र शतप्रतिशत नतिजा निकालेका छन् । विजयी सुरुवात गरेको विभागीय टिम नेपाल पुलिस क्लब दोस्रो खेलमा मच्छिन्द्र क्लबसँग बराबरीमै रोकिएपछि चौथो स्थानमा झरेको छ ।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा पुलिस र मच्छिन्द्रले गोलरहित बराबरी खेलेका हुन् । पहिलो खेलमा जावलाखेल युथ क्लवलाई हराएको पुलिसको चार अंक भएको छ । पहिलो खेलमा च्यासल युथ क्लबसँग गोलरहित बराबरी खेलेको मच्छिन्द्रको दुई अंक भएको छ । लिगमा ४ अंकसहित त्रिभुवन आर्मी क्लब तेस्रो स्थानमा रहेको छ भने एक खेलबाट ३ अंकको संकटा क्लब पाँचौं स्थानमा छ ।
सोमबार तीन खेल हुनेछन् । बिहान ११ बजे जावलाखेल युथ र संकटा क्लब तथा साढे २ बजे फ्रेन्ड्सले सशस्त्र प्रहरी र हिमालयन शेर्पाले सरस्वती युथसँग खेल्नेछ ।
१४ टिम सहभागी लिगमा जावलाखेल, फ्रेन्ड्स, सरस्वती र ब्रिगेड ब्वाइज अंकविहीन छन्
प्रतिक्रिया दिनुहोस्