प्रधानमन्त्री भन्छन्–‘तानाशाही’को लक्षण अझै देखिन्छ’ ! • Image Khabar Image Khabar


प्रधानमन्त्री भन्छन्–‘तानाशाही’को लक्षण अझै देखिन्छ’ !


Imagekhabar
११ बैशाख २०७५, मंगलवार १७:१४

प्रधानमन्त्री भन्छन्–‘तानाशाही’को लक्षण अझै देखिन्छ’ !

मदन भण्डारी स्मृति बाटिकाको मंगलबार राजधानीमा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले भने–‘सरकार देश बनाउने संकल्पमा दृढ छ । भ्रष्टाचार हुन दिन्नौं, सुशासन र पारदर्शिता कायम गर्छौं । बेथितिका अगाडि सरकार निहुरिँदैन । बेथितिलाई थितिमा ल्याएरै छोड्छौं । विकास निर्माणको अभियानमा अब बाधा–व्यवधान नगरौं ।’

प्रधानमन्त्री ओलीले मुलुकको आर्थिक समृद्धिका लागि कृषिको आधुनिकीकरण र उद्योग स्थापना गरी रोजगारी सिर्जना गर्नेतर्फ सरकारको ध्यानकेन्द्रित भएको उल्लेख गरे ।

उनले भने–‘कोही–कोही भन्छन्, ‘तानाशाहीको लक्षण देखिन थाल्योे’, तानाशाहीको लक्षण अझै देखिन्छ, किनकि अब सडकहरु धुलो नउड्ने हुन्छन् । छिट्टै मेलम्चीको पानी आउँदैछ । आउँदो हिउँदमा ४५६ मेगावाटको माथिल्लो तामाकोसीको बिजुली थपिँदैछ । काठमाडौंमा मेट्रोरेल बन्छ । कतिपय त्यत्तिकै आत्तिएका छन् । यस्ता कुतर्कको पछि नलाग्न सबैमा अग्रह गर्छु ।’

काठमाडौं–निजगढ’ द्रुतमार्ग निर्धारित् समयमै सम्पन्न गरिने, निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण प्रक्रिया अघि बढाइने, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको काम चाँडो सम्पन्न गर्नेगरी काम अघि बढाइने पनि उनले उल्लेख गरे ।

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल, प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइराला, जननेता मदन भण्डारी, लौहपुरुष गणेशमान सिंह र पूर्वप्रधानमन्त्री मनमोहन अधिकारीले राष्ट्र निर्माण र समाज परिवर्तनमा पुर्‍याएको योगदानको स्मरण गर्दै प्रधानमन्त्री ओलीले भने–‘मदन भण्डारी राष्ट्रको चिन्तक र जनताको प्रतिनिधिकारुपमा स्थापित नेता हुनुहुन्छ । उहाँको योगदानलाई राष्ट्रले भुल्न हुँदैन ।’

कार्यक्रममा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले राजनीतिक स्थायित्व कायम भइ मुलुक दीगो विकासको दिशामा अघि बढेको भन्दै यसमा कुनै ढिलासुस्ती र अलमल हुन नहुने धारणा राखे ।

जननेता मदन भण्डारी कम्युनिष्ट आन्दोलन, राष्ट्रियता, लोकतन्त्र, सामाजिक न्याय र परिवर्तनका अग्रणी व्यक्तित्व भएको उल्लेख गर्दै उनले ‘भण्डारीको शालिकसहितको सुन्दर पार्क आफैंमा अनुपम छ’–भने ।

महान्यायाधिवक्ता अग्नि खरेलले सरकार र निजी क्षेत्रको साझेदारितामा निर्माण भएको सुन्दर पार्कले सहरी सुन्दरता कायम गर्न तथा वातावरणीय सन्तुलन कायम गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

काठमाडौं उपत्यका विकास प्राधिकरणका प्रमुख आयुक्त भाइकाजी तिवारीले सरकार र निजी क्षेत्रको साझेदारितामा निर्माण भएको यो पार्कले सहरको सौन्दर्य बढाउन महत्वपूर्ण योगदान पुग्ने बताए ।

सो अवसरमा प्राधिकरणका प्रमुख आयुक्त तिवारीले काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यलाई पार्कको साँचो हस्तान्तरण गरे भने उक्त साँचोलाई शाक्यले बाटिकाका कोषाध्यक्ष सुमित्रा कडरिया खरेललाई हस्तान्तरण गरे ।

कामनपा–३२ स्थित महादेवस्थन–कोटेश्वरमा तीन रोपनी १३ आना क्षेत्रफलमा पार्क निर्माण गरिएको हो ।

पार्कमा मदन भण्डारीको पूर्णकदको शालिक तथा आकर्षक रुख–बिरुवासहितका बगैंचा रहेको छ । उक्त पार्क रु तीन करोड २२ लाखको लागतमा बनाइएको हो । रासस

प्रतिक्रिया दिनुहोस्