ढाकाबाट नेपाल आइपुगे यात्रीबाहक बस • Image Khabar Image Khabar


ढाकाबाट नेपाल आइपुगे यात्रीबाहक बस


Imagekhabar
१२ बैशाख २०७५, बुधबार १५:५२

ढाकाबाट नेपाल आइपुगे यात्रीबाहक बस

बंगलादेशको श्यामोली परिवहनका दुईओटा बस बुधबार मध्याह्न काँकरभिट्टा नाकाबाट नेपाल प्रवेश गरेका हुन् ।

ढाकाबाट वैशाख १० गते छुटेका ती बस बुधबारै बिहान बंगलाबन्ध–फूलबारी मार्ग हुँदै भारतको सिलगढी आइपुगेका थिए । सिलगढीबाट भारतको पानीट्यांकी सीमा हुँदै बस नेपाल प्रवेश गरेका हुन् ।

मेचीनगरका नगरप्रमुख विमल आचार्य, मेची भन्सार कार्यालयका प्रमुख टेकबहादुर अर्याल, नेपाल बंगलादेश च्याम्बर अफ कमर्सका अध्यक्ष पन्नालाल जैनलगायतले मेची पुलमै पुगेर बसमा आएका बंगलादेश र भारतका उच्च अधिकारीलाई स्वागत गरेका थिए ।

चार देशबीच सीधा यातायात सेवा सन्चालन गर्नेसम्बन्धी हालै सम्झौता भएपछि पहिलोपल्ट यसरी ढाकाबाट यात्री बोकेर परीक्षण सेवाका लागि बस आएका हुन् ।

बसमा बंगलादेश रोड ट्रान्सपोर्ट कर्पोरेसनका अध्यक्ष फरिद अहमद भूइयनको नेतृत्वमा ८० जनाको टोली रहेको छ ।

टोलीमा नेपाली सदस्यको नेतृत्व भौतिक योजना तथा यातायात मन्त्रालयका वरिष्ठ डिभिजनल इन्जिनियर गोविन्दप्रसाद खरेलले गरेका छन् ।

यसैगरी, भारतीय टोलीको नेतृत्व भारतीय यातायात मन्त्रालयका उच्च अधिकारी अमित मञ्जलले गरेका छन् ।

ढाकाबाट बस चढेर आएका सम्पूर्ण पाहुनालाई काँकडभिट्टास्थित मेची भन्सार कार्यालयको हलमा स्वागत गरिएको थियो ।

काँकडभिट्टामा केहीबेर अध्यागमनसम्बन्धी प्रक्रिया पूरा गरी टोली ती बससँगै काठमाडौंतर्फ प्रस्थान गरेको छ ।

बुधबार साँझ चितवनको सौराहामा टोलीले बास बस्ने र त्यहाँ नेपाल सरकारको तर्फबाट विशेष कार्यक्रमको आयोजना गरिने बताइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्